‘हामी भारत संरक्षित होइनौँ’ भनेर राजदूत मातृकाले ‘न्युयोर्क टाइम्स’ लाई लेखेको त्यो पत्र

सन्तोष खडेरी २० असार २०७९ १०:४४
‘हामी भारत संरक्षित होइनौँ’ भनेर राजदूत मातृकाले ‘न्युयोर्क टाइम्स’ लाई लेखेको त्यो पत्र अमेरिकाका तत्कालीन राष्ट्रपति जोनएफ केनेडीका साथ राजदूत मातृकाप्रसाद कोइराला। तस्बिर साभार : जोनएफ केनेडी लाइब्रेरी

आज ४ जुलाई अर्थात् अमेरिकी स्वतन्त्रता दिवस। अमेरिका सन् १७७६ जुलाई ४ मा स्वतन्त्र भएको हो। अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकाका लागि मात्र नभई संसारका अधिकांश मानिसको व्यक्तिगत स्वतन्त्रतामा समेत परेकाले सबैका लागि अमेरिकी स्वतन्त्रता दिवसले खास अर्थ राख्दै आएको छ।

अमेरिकाभन्दा नेपाल झन्डै नौ वर्षअघि नै एकीकृत राज्यका रूपमा स्थापित भएको हो। यसबारे कतिपय मुलुक र अखबारहरूसमेत लामो समयसम्म स्वतन्त्र नेपालबारे अनभिज्ञझैँ थिए। सोही क्रममा सन् १९६२ मा अमेरिकी पत्रिका ‘न्युयोर्क टाइम्स’ मा नेपालबारे केही भ्रामक खबर छापिएका थिए।

न्युयोर्क टाइम्सको सन् १९६२ नोभेम्बर १० को अंकमा ह्यान्सन डब्ल्यू बल्डविनले नेपाललाई एक ‘अर्ध स्वतन्त्र’ राज्यका रूपमा परिभाषित गरेर समाचार लेखेका थिए। सोही पत्रिकाको २५ नोभेम्बरको अर्को अंकमा पनि नेपाल, सिक्किम र भुटानलाई भारतको संरक्षित राज्यका रूपमा परिभाषित गरी समाचार छापिएको थियो।

संसारकै प्रभावशाली अखबारले नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई कम आँक्ने गरी खबर सम्प्रेषण गर्नु कुनै पनि नेपालीका लागि स्वीकार्य थिएन। यस्तो गम्भीर विषयमा मुलुकको प्रतिनिधित्व गरेर अमेरिकामा रहेका राजदूतको ध्यान पुग्नु स्वाभाविक थियो।

त्यतिबेला अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए। समाचार पढेपछि उनलाई सह्य भएन। अनि उनले ‘न्युयोर्क टाइम्स’ अखबारमा नेपालबारे प्रकाशित समाचारको खण्डन गर्दै पाठकपत्र लेखे।

पत्रमा उनले अखबारमा छापिएका ती दुवै समाचारमा नेपाललाई अलगअलग रूपमा भुटान र सिक्किमझैँ अर्धस्वतन्त्र राज्य र भारत संरक्षित राज्य हो भनेर लेखिएकोमा आपत्ति जनाएका थिए।

साथै उनले आधुनिक राज्य राष्ट्रका रूपमा नेपालको स्थापना सन् १७७६ को अमेरिकी स्वतन्त्रताभन्दा करिब नौ वर्षअगाडि भएको स्मरण गराएका थए।

२३ नोभेम्बर १९६२ मा राजदूत कोइरालाले लेखेको उक्त पत्रलाई न्युयोर्क टाइम्सले १२ डिसेम्बरको अंकमा छापेको थियो।

पत्रमा उनले नेपाल अर्धस्वतन्त्र र भारत संरक्षित राज्य होइन र कहिल्यै पनि नभएको स्पष्ट पारिएको थियो। नेपाल आधुनिक राज्यका रूपमा सन् १७७६ को अमेरिकी स्वतन्त्रताको घोषणा हुनुभन्दा अगाडि नै सिमाना निर्धारण गरेर आफ्ना जनतालाई एउटै कानुन र रीतिरिवाजमा एकआपसमा जोडेर अन्य मुलुकसँग समान किसिमको सम्बन्ध स्थापना गर्ने व्यवस्थित राज्यका रूपमा अगाडि बढिसकेको पत्रमा उल्लेख थियो।

नेपाली इतिहासका जानकार कोइरालाको अंग्रेजी भाषामा पनि राम्रो पकड थियो। करिब दुई वर्षसम्म वासिङ्टन र न्युयोर्क (संयुक्त राष्ट्रसंघ) का लागि राजदूत रहेका कोइरालाले त्यहाँका विभिन्न विश्वविद्यालयदेखि सार्वजनिक मञ्चहरूमा समेत प्रवचन दिएका थिए।

नेपाल सरकारले सर्वप्रथम सन् १७९२ मा इस्ट इन्डिया कम्पनीसँग वाणिज्य सन्धिमा हस्ताक्षर गरिसकेको थियो। सन् १८०१ मा नेपालले ब्रिटेनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर ब्रिटिस पक्षलाई नेपालमा आफ्नो आवासीय दूतावास खोल्न अनुमति दिएको थियो।
त्यस्तै सन् १९२३ मा ब्रिटेन र नेपालबीच भएको शान्ति तथा मैत्री सन्धिबाट दुवै पक्षले एकअर्काको आन्तरिक र बाह्य दुवै स्वतन्त्रतालाई स्वीकार गर्न सहमत भएका थिए।

जब सन् १९४७ मा ब्रिटिस भारतबाट फिर्ता हुने भयो त्यसअघिसम्म भुटान र सिक्किमको मामिलामा ब्रिटिसले उपयोग गरिरहेको अधिकारलाई भर्खरको स्वतन्त्र भारतले समेत कायमै राख्ने गरी अर्को सम्झौता गरेको थियो। तर नेपालको हकमा भने सन् १९२३ को सन्धिबाट ब्रिटिस पक्षले नेपालको पूर्ण स्वतन्त्रता स्वीकार गरिसकेकाले त्यहाँ कुनै विशेष सुविधा थिएन।

सन् १९२३ को त्यही सन्धि सन् १९५० मा स्वतन्त्र भारतसँग अर्को सन्धि नहुँदासम्म कायमै थियो। जब सन् १९५० मा स्वतन्त्र भारत र नेपालका बीचमा ‘शान्ति एवं मैत्री’ सन्धि भयो त्यसमा दुवै मुलुकले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गरेका छन्।

तिब्बत र चीनसँगको नेपालको सम्बन्ध धेरै पुरानो हो। नेपाल र चीनका बीच सातौँ शताब्दीसँग सम्बन्ध रहेको पुराना प्रमाणले देखाउँछ। त्यस्तै तिब्बतसँग सन् ६४० देखि नेपालको सम्बन्ध कायम रहिआएको छ। तिब्बतसँग सन् १८५६ मा भएको व्यापार वाणिज्य सन्धि, सन् १७९२ र सन् १९६० मा चीनसँग भएको शान्ति तथा मैत्री सन्धिले नेपालको पूर्ण स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता स्वीकार गरेको छ।

अहिले दिनमा ३३ वटा मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध छ। त्यस्तै सन् १९५५ को डिसेम्बरयता नेपाल संयुक्त राष्ट्रसंघको सदस्य छ। नेपाल र अमेरिकाकाबीच सन् १९४७ मा सम्बन्ध स्थापना भएको हो। सन् १९५८ यता अमेरिकामा नेपालको आवासीय राजदूतावास स्थापना भई सञ्चालनमा छ। सन् १९५९ यता नेपालमा अमेरिकाका आवासीय राजदूत छन्।

नेपाल र अमेरिकाको सम्बन्ध सन् १९४७ को अप्रिल २५ मा हस्ताक्षर भएको वाणिज्य एवं मैत्री सन्धिले निर्धारण गरेको हो। नेपालको पूर्ण स्वतन्त्रता र सार्वभौमसत्तालाई अमेरिकाले मान्यता दिएर काठमाडौँमा नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ पद्मशमशेर जबरा र अमेरिकी राष्ट्रपतिका प्रतिनिधि जोसेफ सी. स्याटर्थवेटले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २० असार २०७९ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =