भीमसेन थापाको कारुणिक अन्त्यबारे विदेशी अखबारले समेटेको समाचार

सन्तोष खडेरी ८ साउन २०८० ६:०८
1.6k
SHARES
भीमसेन थापाको कारुणिक अन्त्यबारे विदेशी अखबारले समेटेको समाचार

३१ वर्षसम्म नेपालमा शासन गरेका मुख्तियार जनरल भीमसेन थापाले १८९६ साल साउन ८ गते आत्महत्याको असफल प्रयास गरेका थिए। जेलभित्र घाँटी काटेर आत्महत्या प्रयास गरेका भीमसेनको प्राण जेलभित्रै गयो या जेलबाहिर विष्णुमती किनारामा गयो भन्ने सम्बन्धमा इतिहासकारहरूबीच मत बाझिएको छ।

साथै थापाले आत्महत्याको प्रयास गरेको र प्राण गएको मितिमा समेत एकरूपता पाइँदैन। त्यतिबेला नेपालमा पत्रपत्रिका प्रकाशन सुरु भएकै थिएन। तर भारत, बेलायत तथा युरोपेली मुलुकमा पत्रपत्रिका छापिन सुरु भइसकेको थियो।

तत्कालीन समयमा भीमसेन थापाको निधनसम्बन्धी समाचार कुनै पत्रपत्रिकामा छापियो होला? छापिएको भए कसरी प्रस्तुत गरिएको थियो भन्ने जिज्ञासा लाग्नु स्वाभाविकै हो। त्यतिबेला कलकत्ताबाट छापिएको एउटा समाचार भेटिएको छ। त्यो खबरबारे चर्चा गर्नुअघि केही नेपाली इतिहासकारले नेपालमा भीमसेन थापाको निधन सम्बन्धमा के लेखेका छन्? त्यसतर्फ लागौँ।

इतिहासकार बाबुराम आचार्यका अनुसार भीमसेनले साउन १५ गते जेलमा घाँटी काटेर आत्महत्याको असफल प्रयास गरेका थिए। रगतले लतपत भएको यिनको अर्धचेत शरीरलाई तत्कालीन राजा राजेन्द्र तथा जेठी महारानी सम्राज्यलक्ष्मीको आदेशअनुसार विष्णुमती नदीको बगरमा लगेर बेवारिस अवस्थामा फ्याँक्न लगाइएको थियो।

मध्यवर्षाको झरी भिज्दै जीवनमरणको दोसाँधमा स्याल, कुकुर तथा गिद्धद्वारा घेरिएर नौ दिनसम्म जीवित रहेर २३ साउनमा यिनको प्राण गयो। (भीमसेन थापा : उत्थान तथा पतन, बाबुराम आचार्य, २०७५)

अर्का इतिहासकार ज्ञानमणि नेपालका अनुसार भीमसेनले १८९६ साउन ८ गते राति अँध्यारो छिँडीमा खुकुरीले आफैँले घाँटी सेरे। भुत्ते खुकुरी भएर हो वा ठिकसँग हात नलागेर हो, उनले पूरा गला रेट्न सकेनन् र अलिकति काटेर लडे। रगतको धारो लाग्यो।

‘नेपालबाट प्राप्त भएको पत्रअनुसार भीमसेन थापाको शवको अन्त्येष्टि गर्न र उनलाई सम्मान दिन अस्वीकृत गरियो। उनको शव नदी किनारामा फ्याँकिएको छ र शवको आधा अवशेष स्याल र गिद्धले खाइसकेका छन्।’

यसरी ढलेका भीमसेन पिप, रगत, फोहोरमा मुछिएर घ्यारघ्यार गरी नौ दिनसम्म बाँचेर कन्तबिजोगसँग प्राणमुक्त भए। राजारानीसमेत सबै आएर उनको लास हेरे पनि दाहसंस्कार गर्न अनुमति दिइएन। डोरीले बाँधेर घिसार्दै विष्णुमतीपारि पुर्‍याएर फाल्न लगाइयो। (नेपालको महाभारत : ज्ञानमणि नेपाल, २०७६) 

चित्तरञ्जन नेपालीले छापेको जनरल भीमसेन थापा र तत्कालीन नेपाल पुस्तकमा भीमसेनको आत्महत्यासम्बन्धी एक पत्रमा उल्लेख छ, ‘एकदेव वैद्यले अघिपछिको सबै कुरा बक्याको थाहा पायेछ र आफूले गर्याको अघिको र पछिको कुकर्म प्रकाश हुन लाग्यो भन्या डरले कसैले थाहा नपाई हतियार मगाई ९६ साल श्रावण महिनाको दिन ८ जाँदा हतियारले आफ्नु गला आफैँले काटी अपहत्या गरी ९ दिन बची श्रावण १६ दिन जाँदा भीमसेन थापा मर्‍यो। (जनरल भीमसेन थापा र तत्कालीन नेपाल : चित्तरञ्जन नेपाली, २०७६) 

उल्लिखित तीनै इतिहासकारको अध्ययनअनुसार भीमसेन थापाले आत्महत्याको प्रयास गरेको नौ दिनपछि उनको प्राण गएको उल्लेख छ। तर निधन भएको ठाउँबारे एकमत छैन। कसैले जेलभित्रै उनको निधन भएको त कसैले जेलबाहिर विष्णुमती किनारामा प्राण गएको लेखेका छन्।

नेपालका शक्तिशाली व्यक्तित्वको निधनसम्बन्धी समाचार कलकत्ताबाट प्रकाशित पत्रिका ‘इङ्लिसम्यान’ को सन् १८३९ अगस्ट १२ को अंकमा छापिएको थियो। उक्त समाचारमा थापाको राजनीतिक आरोहअवरोहको संक्षिप्त विवरणसँगसँगै निधनको कारण र निधनपछि उनको शवको अवस्थाबारे उल्लेख छ।

समाचारको भावानुवाद

‘जेलमा रहेका भीमसेन थापाको आत्माले सहनै नसक्ने किसिमको आक्रोशित यातना दिइएकाले उनले जेलभित्रै आफ्नो घाँटी काटेर आत्महत्याको प्रयास गरे। त्यही घाँटीको पीडाका कारण छ्टपटाउँदै दुई दिनपछि २९ जुलाईमा उनको निधन भयो। उनी नेपाल-अंग्रेज युद्धताका गोरखपुरको नजिकै पाल्पाका बडाहाकिम रहेका अमर सिंह थापाका छोरा थिए।’ (त्यसमा अमरको नाम भने अशुद्ध छापिएको थियो।)

समाचारमा थप उल्लेख थियो, ‘नेपालबाट प्राप्त भएको पत्रअनुसार भीमसेन थापाको शवको अन्त्येष्टि गर्न र उनलाई सम्मान दिन अस्वीकृत गरियो। उनको शव नदी किनारामा फ्याँकिएको छ र शवको आधा अवशेष स्याल र गिद्धले खाइसकेका छन्।’ (इङ्लिसम्यान कलकत्ता १८३९ अगस्ट १२)

समाचारमा आत्महत्याको प्रयास गरेको दुई दिनपछि २९ जुलाईमा भीमसेन थापाको निधन गएको लेखिएको छ।

हामीले अहिलेसम्म आत्महत्या प्रयासको नौ दिनपछि थापाको निधन भएको पढ्दै आएका थियौँ। त्यसैले पत्रिकाको उक्त समाचार हाम्रा लागि नौलो हुन जान्छ। इङ्लिसम्यानमा मात्र होइन त्यतिबेला छापिएका अन्य समाचारले समेत दुई दिनपछि नै थापाको निधन भएको उल्लेख गरेका छन्। त्यसैले यसमा यति दिन भन्ने उल्लेख गर्न थप तथ्य आवश्यक पर्छ।

थापाको  निधनपछि उनको अन्तिम संस्कार गर्न दिइएन र त्यसलाई नदी किनारामा फालियो। उनको शवलाई स्याल तथा गिद्धहरूले लुछेर खाए भन्ने त यथार्थ रहेछ। यसरी हेर्दा भीमसेन थापाको अन्त्य अत्यन्तै कारुणिक थियो भन्ने पुष्टि हुन्छ।

हुन त नेपालमा भीमसेन थापालाई आफ्ना विरोधीलाई दबाउने अत्याचारी शासकका रूपमा चित्रण गरिन्छ। २१ औँ शताब्दीमा पनि केही राष्ट्रमा आफ्ना विरोधीलाई तह लगाउने निरंकुश शैली हेर्दा त आजभन्दा २०० वर्षअगाडिको देश र समाज झन् कस्तो हुँदो हो? विरोधीहरूलाई तह लगाउने शैली आज फेरियो होला तर पनि राजनीतिमा विरोधी व्यवस्थापन सधैँ रहिरहने रहेछ।

युद्धमैदानमा खटिने आफ्ना सैन्य जनरलको सल्लाह नमानेर मुलुकलाई युद्धमा धकेली त्यसबाट मुलुकले एकतिहाई भूभागसहित धेरैथोक गुमाउने शासकका रूपमा पनि भीमसेन थापाको आलोचना हुन्छ। तर मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता गुमाएका धेरै भारतीय राजारजौटाका लागि अंग्रेजसँग डटेर लडेर केही सानो भूभाग गुमाए पनि आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउने भीमसेन थापा महापुरुष थिए।

त्यतिन्जेलसम्म आफ्नो सिख साम्राज्य कायमै राख्न सकेकाले भारतीय उपमहाद्वीपमा रणजित सिंहसमेत नायक थिए। यो सिंगो क्षेत्रमा आमभारतीयका लागि विशाल सिख सम्राज्य कायम राख्न सकेकाले रणजित सिंह पहिलो नम्बरमा र नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता कायम राख्न सकेकाले भीमसेन थापा दोस्रो नम्बरका नायक थिए। त्यतिबेला भारतीय उपमहाद्वीपमा अंग्रेज साम्राज्यसँग डट्ने यी दुई महापुरुष मात्र कायम थिए।

अंग्रेजले मागेको बुटवल स्युराजको जमिन सुम्पिए पनि साम्राज्यवादी अंग्रेज पछि हामीसँग लड्न आउँदैनथ्यो। युद्धमा गुमाउनुपरेको भूभागसहित हामीमाझ विशाल नेपालसहितको नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता रहन्थ्यो भन्ने ग्यारेन्टी के थियो त? अहिले स्वतन्त्र नेपालको नागरिक भएर हेर्दा युद्ध लडेर केही भूभाग गुमाएर भए पनि  स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउने भीमसेन थापा हाम्रा राष्ट्रनायक हुन्।

सन् १८३९ जुलाई २९ मा मुख्तियार भीमसेन थापाको निधन हुनुभन्दा एक महिना दुई दिनअगाडि जुन २७ मा पञ्जाब केसरी रणजित सिंह (सिख राजा) को निधन भएको थियो। सौर्य पराक्रमका हिसाबले यो उपमहाद्वीपमा नेपालका भीमसेन थापा मात्र रणजित सिंहका समकालीन एवं उनीसँग तुलनायोग्य महापुरुष थिए। दुई महापुरुषहरुको सँगसँगै निधन हुनु यो सिंगो उपमहाद्वीपको स्वाधीनता र स्वतन्त्रताका लागि अपूरणीय क्षति हो भन्ने त्यतिबेलाका भारतीय अखबारहरूको टिप्पणी थियो।

हिमालप्रेस अर्काइभबाट

प्रकाशित: ८ साउन २०८० ६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =