ब्रिटिस शासकको राज्याभिषेक समारोह जुन नेपाली राजपरिवारका लागि पहिलो र अन्तिम बन्यो

सन्तोष खडेरी २८ जेठ २०७९ ११:०३
ब्रिटिस शासकको राज्याभिषेक समारोह जुन नेपाली राजपरिवारका लागि पहिलो र अन्तिम बन्यो सन् १९५३ मा महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा राजा त्रिभुवनका प्रतिनिधिका रूपमा भाग लिन लन्डन पुगेका अधिराजकुमार हिमालय र अधिराजकुमारी प्रिन्सेप शाह। तस्बिर : गेट्टी इमेजेज

सन् १९५२ मा राज्यारोहण गरेकी ब्रिटिस महारानी एलिजाबेथ द्वितीया सात दशकसम्म निरन्तर बेलायतको राजगद्दीमा छिन्। सन् १९५३ मा पहिलोपटक ब्रिटिस शासकको राज्याभिषेक समारोहमा भाग लिएको नेपालको शाहवंशीय राजसंस्था सन् २००८ मा नेपालमा राजतन्त्रको उन्मूलनसँग इतिहासमा सीमित भएको छ।

संयोग नै मान्नुपर्छ नेपालको राजपरिवार सहभागी भएको ब्रिटिस शासकको राज्याभिषेक समारोह त्यही पहिलो र अन्तिम बनेको छ।

ब्रिटिस महारानी एलिजाबेथ द्वितीयाले राजगद्दी सम्हालेको ७० वर्ष पुगेको अवसरमा गत साता मात्र उनको राज्यारोहणको ७० औं वार्षिक उत्सव मनाइयो। ब्रिटिस इतिहासमा सबैभन्दा लामो अवधि शासन गर्ने शासकका रूपमा समेत उनको नाम अंकित भएको छ।

सन् १९२६ को २१ अप्रिलमा जन्मिएकी एलिजाबेथ द्वितीयाले सन् १९५२ फेब्रुअरी ६ मा आफ्ना बाबु तत्कालीन ब्रिटिस राजा जर्ज छैटौँको निधन भएपछि ब्रिटेनको राजगद्दी सम्हालेकी थिइन्। जसको औपचारिक राज्याभिषेक समारोह भने २ जुन १९५३ मा लन्डनमा भएको थियो।

भारतमा इस्ट इन्डिया कम्पनीले शासन गर्दाको समयदेखि नै इस्ट इन्डिया कम्पनीमार्फत नेपाल र ब्रिटिस सम्पर्कमा आइसकेका थिए। नेपाल ब्रिटिस सम्बन्धको इतिहास हेर्ने हो भने सन् १७९२ मार्च १ मा नेपाल र इस्ट इन्डियाबीच सम्पन्न वाणिज्य सन्धिबाट सुरु गर्नुपर्ने हुन्छ।

त्यस्तै सन् १८०१ मा नेपालमा इस्ट इन्डिया कम्पनीको आवासीय प्रतिनिधि राख्ने सम्बन्धमा समेत अर्को सन्धि भएको थियो। जसका आधारमा क्याप्टेन नक्स पहिलो प्रतिनिधिका रूपमा सोही वर्ष नेपाल आएर करिब एक वर्षसम्म यहाँ बसेका थिए। सन् १८१४/१६ को नेपाल अंग्रेज युद्धका क्रममा हस्ताक्षर भएको सुगौली सन्धिपछि त निरन्तर रूपमा नेपालमा ब्रिटिस आवासीय प्रतिनिधि रहन थालेका थिए।

सुगौली सन्धिमार्फत नेपाल र ब्रिटिस सरकार औपचारिक रूपमा दौत्य सम्बन्धमा प्रवेश गरिसकेपछि नेपालले समेत मित्रता र सद्भावस्वरूप ब्रिटिस शासकका जन्मदिन, निधन र राज्याभिषेकमा त्यसको हर्षबढाइँ, शोक एवं सम्मानमा तोप पड्काउने चलन सुरु गरेको थियो।

सन् १९३६ सम्म नेपालले कुनै पनि ब्रिटिस शासकको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डनसम्म आफ्नो प्रतिनिधि पठाएको थिएन। सन् १९३७ को मेमा  सम्पन्न तत्कालीन ब्रिटिस राजा जर्ज छैटौँको राज्याभिषेक समारोहमा इतिहासमा पहिलोपटक नेपालले आफ्नो प्रतिनिधि लन्डन पठाएको थियो। त्यतिबेला कमान्डिङ जनरल केशरशमशेरको नेतृत्वमा नारायणशमशेर र सुरेन्द्रशमशेरसमेत सहभागी भएका थिए।

महारानी एलिजाबेथ द्वितीयाको (तत्कालीन राजकुमारी एलिजाबेथ) विवाह सन् १९४७ को नोभेम्बर २० मा भएको थियो। त्यतिबेला नेपालमा पद्मशमशेर जबरा श्री ३ महाराज एवं प्रधानमन्त्री थिए। उनको विवाहमा नेपाल सरकारका तर्फबाट बेलायतका लागि तत्कालीन नेपाली राजदूत केशरशमशेर जबराले प्रतिनिधित्व गरेका थिए। एलिजाबेथको विवाहमा नेपालका प्रधानमन्त्री पद्मशमशेर जबराले चाँदीको फूलदान उपहार दिएका थिए।

मोहनशमशेरको पालामा नेपालले राजकुमारी एलिजाबेथलाई नेपालको सर्वोच्च सम्मान ‘ओजस्वी राजन्य’ को तक्मा प्रदान गरेको थियो।

सन् १९५२ मा राजकुमारी एलिजाबेथ आफ्नो बाबुको निधनपछि राजगद्दीको उत्तराधिकारीका रूपमा महारानी एलिजाबेथ द्वितीया हुँदा नेपालमा राणा शासनको अन्त्य भइसकेको थियो।

प्रजातन्त्रयता नेपालको राजदरबारमा खोपीको देवतासरह रहेको नेपालको राजपरिवार अब यहाँको शासनसत्तामा सक्रिय भूमिकामा उपस्थित भएको थियो।

सन् १९५३ को २ जुनमा सम्पन्न हुने महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा नेपाललाई निमन्त्रणा आएको थियो। महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा सहभागी हुन नेपालका प्रतिनिधि दोस्रोपटक लन्डन पुग्दै थिए।

महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा भाग लिन नेपालका तर्फबाट तत्कालीन राजा त्रिभुवनका प्रतिनिधिका रूपमा उनका माइँला छोरा अधिराजकुमार हिमालयविक्रम र पत्नी अधिराजकुमारी प्रिन्सेप शाह (राणा प्रधानमन्त्री जुद्धशमशेरकी पनातिनी प्रिन्सेप शाहको खास नाम गृह राज्यलक्ष्मी थियो।)  लन्डन पुगेका थिए। सन् १९५२ देखि हालसम्म लगातार करिब ७० वर्षदेखि त्यहाँ उनै महारानी एलिजाबेथ द्वितीया गद्दीमा आसीन छन्।

यता सन् २००८ मा नेपालमा राजतन्त्रको विधिवत् अन्त्य भएर गणतन्त्र घोषणा भएसँगै नेपालमा राजा छैनन्। त्यसैले सन् १९५३ को राज्याभिषेक समारोह नेपालका राजपरिवारका तर्फबाट सहभागी हुने पहिलो र अन्तिम ब्रिटिस राज्याभिषेक समारोह बन्न पुगेको छ।

महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहसँग नेपालको एउटा अर्को पनि प्रसंग जोडिएको छ। त्यो पहिलोपटक सगरमाथा आरोहणको प्रसंग हो।

सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुगेका थिए। तर नेपालमा कसैलाई पनि यसको जानकारी सम्म पनि दिइएन। नेपालको सगरमाथा चढेको भए पनि यसबारे पहिलो जानकारी बेलायतबाट सार्वजनिक गरियो।

२९ मेको आरोहणको उक्त घटनालाई केही दिनसम्म गोप्य राखेर २ जुनका दिन महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेक समारोहमा मात्र त्यो समाचार सार्वजनिक गरियो।

प्रकाशित: २८ जेठ २०७९ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =