पहिलोपटक ‘सरदार’ उपाधि पाउने गैरनेपाली, जो दरबार हाइस्कुलका हेडमास्टर थिए

सन्तोष खडेरी २४ वैशाख २०७९ ११:०६
पहिलोपटक ‘सरदार’ उपाधि पाउने गैरनेपाली, जो दरबार हाइस्कुलका हेडमास्टर थिए दरबार हाइस्कुलको पुरानो तस्बिर। स्रोत : इन्टरनेट

दरबार स्कुल! जसले नेपालमा आधुनिक शिक्षा प्रणालीको जग बसाल्यो। यस स्कुलको औपचारिक स्थापना भएको अझै डेढ शताब्दी पूरा भएको छैन।

सन् १८५० मा जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि आफ्ना भाइछोरालाई पढाउन उनले दरबारभित्रै एउटा स्कुल खोले। यो त्यही दरबार स्कुल हो। उतिखेर यसलाई स्कुल भनिए पनि प्राइभेट ट्युसनजस्तै थियो। त्यहाँ पढ्न पाउने र ज्ञान हासिल गर्ने सुविधा त थियो तर त्यो पढाइले औपचारिक मान्यता पाउने व्यवस्था भने थिएन।

सन् १८७५ मा जंगबहादुरका कान्छा भाइ धीरशमशेर शिक्षा हेर्ने डाइरेक्टर नियुक्त भए। उनले आफ्नो कार्यकालमा दरबारभित्र खुलेको स्कुललाई औपचारिकता दिलाउन पहल गरे।

सन् १८७१ मा कलकत्ताका बंगाली नागरिक केदारनाथ चटोपाध्याय शिक्षकका रूपमा नेपाल भित्रिए। कलकत्ता विश्वविद्यालयबाट स्नात्तक गरेका उनले सुरुमा जंगबहादुर र धीरशमशेरका छोरालाई ट्युसन पढाए।

कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन लिएर दरबार स्कुललाई औपचारिकता दिलाउने काम नेपालले थाल्यो। सम्बन्धन प्राप्त गर्नुअघि सम्भवतः विश्वविद्यालयले तोकेको मापदण्डबमोजिम नै नेपालले सन् १८७७ जुलाईमा केदारनाथ चटोपाध्यायलाई दरबार स्कुलको पहिलो हेडमास्टर नियुक्त गरेको थियो। यसरी चटोपाध्यायले औपचारिक रूपमा नेपालको शिक्षा क्षेत्रमा प्रवेश गरे।

सन् १८७८ मा दरबार स्कुलले त्यतिबेला कलकत्तामा कायम रहेका अन्य अंग्रेजी स्कुलसरह नै सम्बन्धन प्राप्त गर्‍यो। यसपछि दरबार स्कुलमा पढाइ हुन थाल्यो। आजको एसईईजस्तै त्यतिबेला ‘म्याट्रिकुलेसन’ जाँच हुन्थ्यो। परीक्षा दिन विद्यार्थीहरूले कलकत्ता नै पुग्नुपर्थ्यो।

समाचारमा नेपालले आफ्नो इतिहासमा पहिलोपटक कुनै गैरनेपालीलाई ‘सरदार’ को उपाधि प्रदान गरेको लेखिएको थियो। अवकाशपछि कलकत्ता फर्किंदा चटोपाध्यायले पेन्सनसमेत पाएको समाचारमा छापिएको थियो।

सन् १८७९ मा नेपालको दरबार स्कुलबाट पहिलोपटक धीरशमशेरको माहिलो छोरा १८ वर्षीय ले.ज. खड्गशमशेर (पाल्पाको रानी महलका निर्माता) म्याट्रिकुलेसन जाँच दिन कलकत्ता पुगेका थिए। (दी ग्राफिक लन्डन २०-मार्च-१८८०)

१४५ वर्षअघि चटोपाध्याय नेपालको पहिलो स्कुलको पहिलो हेडमास्टर नियुक्त हुँदा उनको तलब मासिक दुई सय रुपैयाँ थियो। (नेपालमा शिक्षाको इतिहास भाग-०१, गोपीनाथ शर्मा)

दरबार स्कुल र संस्कृत पाठशाला संस्थागत रूपमा सुरु गर्ने श्रेय चटोपाध्यायलाई जान्छ। नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई ‘सरदार’को पदवीसमेत प्रदान गरेको थियो। नेपाली शिक्षा क्षेत्रको विकासका लागि उनी दुई दशकभन्दा बढी समय नेपालमा रहे। सन् १९०१ मा नेपालबाट अवकाश लिएर कलकत्ता फर्किएका थिए।

नेपालबाट कलकत्ता फर्किएको पाँच वर्षपछि सन् १९०६ को फेब्रुअरीमा उनको निधन भएको थियो। उनको निधनको खबर अखबारमा छापिएको थियो। त्यस समाचारमा नेपालले आफ्नो इतिहासमा पहिलोपटक कुनै गैरनेपालीलाई ‘सरदार’ को उपाधि प्रदान गरेको लेखिएको थियो। अवकाशपछि कलकत्ता फर्किंदा चटोपाध्यायले पेन्सनसमेत पाएको समाचारमा छापिएको थियो। नेपालमा राजनीतिक रूपमा धेरै उतारचढाव आए पनि उनले आफ्नो सेवा कायमै राखेको पनि समाचारमा उल्लेख थियो। (सिभिल एन्ड मिलिटरी गजेट २५ फेब्रुअरी १९०६)

प्रकाशित: २४ वैशाख २०७९ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =