डा‍‍‍‍‍. राधाकृष्णनलाई त्रिविले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्दाको त्यो क्षण

सन्तोष खडेरी २ जेठ २०७९ ११:०४
डा‍‍‍‍‍. राधाकृष्णनलाई त्रिविले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्दाको त्यो क्षण नेपाल भ्रमणमा आएका बेला पाटनमा भादगाउँले टोपी लगाउँदै भारतका राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन। तस्बिर साभार : भारतीय राष्ट्रपति कार्यालय अभिलेखालय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्दैछ। विश्वविद्यालयले प्रधानमन्त्री मोदीलाई लुम्बिनीस्थित विश्वविद्यालय प्रांगणमा मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ। यसै प्रसंगमा नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पहिलोपटक नेपाल भ्रमणमा आएका तत्कालीन भारतीय राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको स्मरणीय छ। त्यसैले यहाँ त्यही प्रसंगको चर्चा गरिएको छ।

भर्खरै स्थापित विश्वविद्यालयमा विद्यार्थीले विद्यावारिधि हासिल नगरेसम्म आफूहरूले मानार्थ डिग्री लिँदैनौं भनी बडामहारानीहरूले लिन इन्कार गरेका थिए।

नेपालको पहिलो त्रिभुवन विश्वविद्यालय सन् १९५९ मा स्थापना भएको थियो। विश्वविद्यालय स्थापना भएको करिब चार वर्षपछि सन् १९६३ मा पहिलोपटक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो। उक्त विद्यावारिधि नेपाल भ्रमणमा रहेका तत्कालीन भारतीय राष्ट्रपति डा.  राधाकृष्णनलाई प्रदान गरिएको थियो। त्रिभुवन विश्वविद्यालयको स्थापनामा दिवंगत राजा त्रिभुवनका रानीहरू जेठा मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी र कान्छा मुमाबडामहारानी ईश्वरी राज्यलक्ष्मीको महत्त्वपूर्ण योगदान थियो।

सन् १९६२ मा आयोजित दीक्षान्त समारोहको अवसर पारेर विश्वविद्यालय प्रशासनले दुवै बडामहारानीहरूलाई कानुनमा मानार्थ विद्यावारिधिको प्रदान गर्ने निर्णय गरेको थियो। भर्खरै स्थापित विश्वविद्यालयमा विद्यार्थीले विद्यावारिधि हासिल नगरेसम्म आफूहरूले मानार्थ डिग्री लिँदैनौं भनी बडामहारानीहरूले लिन इन्कार गरेका थिए। (दी इन्डियन एक्स्प्रेस १५ मार्च १९६२)

भारतका तत्कालीन राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन विख्यात शिक्षाविद्समेत थिए। बनारस हिन्दु विश्वविद्यालयका उपकुलपति र भारत सरकारले गठन गरेको विश्वविद्यालय आयोगको अध्यक्ष रहिसकेका राधाकृष्णनको बौद्धिक चर्चा संसारभरमा थियो।

उनी सन् १९५६ को मेमा आयोजित राजा महेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन उपराष्ट्रपतिका रूपमा नेपाल आइसकेका थिए। भारतका राष्ट्रपतिका रूपमा डा. सर्वपल्ली राधाकृष्णन सन् १९६३ को नोभेम्बर ०४–०८ सम्म ५ दिने नेपालको राजकीय भ्रमणमा आएका थिए। ०४ नोभेम्बरमा  बिहान ११ः३० मा गौचर हवाईअड्डामा ओर्लिएका उनलाई भ्रमणको चौथो दिनमा मानार्थ विद्यावारिधि उपाधि प्रदान गरिएको थियो। ०७ नोभेम्बरको दिउँसो ३ बजे त्रिभुवन विश्वविद्यालय प्रांगणमा आयोजित एक विशेष समारोहका माझ उनलाई साहित्यमा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो।

डा. राधाकृष्णनले यही हिमालयको छायामा विकसित मौलिक अवधारणा र आधारभूत मूल्यका रूपमा सत्य, सौन्दर्य, प्रेम, आदर्श अनन्तकालसम्मका लागि स्थायी महत्त्वको रहेको उल्लेख गरेका थिए।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका तत्कालीन राजा महेन्द्रले उक्त उपाधि प्रदान गर्ने क्रममा डा. राधाकृष्ण जस्ता मानिस यस संस्थाबाट दीक्षित हुनेहरूको सूचीमा शीर्षस्थानमा समाहित हुनु विश्वविद्यालयको सौभाग्य भएको बताएका थिए। विश्वविद्यालयका उपकुलपति रणधीर सुब्बाले डा. राधाकृष्णनलाई भारत र नेपाल दुवैको साझा गरिमाका रुपमा रहेको हिन्दु धर्मको प्रकाण्ड व्याख्याताका रूपमा उल्लेख गरेका थिए। आफ्नो सम्बोधनमा डा. राधाकृष्णनले यही हिमालयको छायामा विकसित मौलिक अवधारणा र आधारभूत मूल्यका रूपमा सत्य, सौन्दर्य, प्रेम, आदर्श अनन्तकालसम्मका लागि स्थायी महत्त्वको रहेको उल्लेख गरेका थिए। (युनिभर्सिटी न्युज, नोभेम्बर १९६३)

यसरी डा. राधाकृष्णन नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गर्ने प्रथम व्यक्ति भएका थिए। डा. राधाकृष्णनजस्ता विद्वानलाई मानार्थ विद्यावारिधि प्रदान गर्दा विश्वविद्यालयको गरिमासमेत उँचो बनाएको थियो।

प्रकाशित: २ जेठ २०७९ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =