७३ वर्षअघि चार हजार डलर खर्चेर कोरिएको राजा र प्रधानमन्त्रीको तस्बिर

सन्तोष खडेरी १४ जेठ २०७९ ११:०१
७३ वर्षअघि चार हजार डलर खर्चेर कोरिएको राजा र प्रधानमन्त्रीको तस्बिर तत्कालीन प्रधानमन्त्री मोहनशमशेरको पेन्टिङ तस्बिर बनाउँदै अमेरिकी कलाकार चार्ल्स वास्करभिल। तस्बिर : स्मिथसोनियन इन्स्टिट्युसन, अमेरिका

राजधानीका संग्रहालयतिर पुराना राजामहाराजाका तस्बिर झुन्ड्याइएको देखिन्छ। त्यसरी राखिएका अधिकांश तस्बिर क्यामेराले खिचिएका हैनन्। ती त कलाकारले बनाएका तस्बिर हुन्। उति बेला अहिलेजस्तो डिजिटल क्यामेर कहाँ पाउनु?शासकहरूले कलाकारलाई महँगो शुल्क दिएर आफ्नो तस्बिरको ‘पेन्टिङ’ बनाउने चलन थियो। धनाढ्य व्यक्तिहरू पनि यसरी नै कलाकारलाई तस्बिर बनाउन लगाएर आफ्नो बैठक कक्षमा राख्थे।

राणा शासकहरू पेन्टिङमार्फत आफ्ना ठूलाठूला तस्बिर उतार्न सौखिन थिए। पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाका पनि पेन्टिङ गरिएका तस्बिर संग्रहालयमा पाइन्छन्। हुन त उनको पालादेखि नेपालमा क्यामेराबाट फोटो खिच्न थालिएको इतिहासमा उल्लेख  छ। सँगसँगै पेटिङमा तस्बिर उतार्ने काम पनि उत्तिकै हुन्थ्यो।

यसरी चित्र बनाउनेमा नेपाली कलाकारसँगै ब्रिटिस र भारतीय कलाकार पनि थिए। विदेशीलाई प्रवेशमा नेपालको अनुदार नीति थियो। त्यसमा ब्रिटिसहरूको प्रभाव थियो। नेपालको वैदेशिक मामिलामा आफूबाहेकका अन्य विदेशीलाई सहज रूपमा नलिने ब्रिटिस नीतिले पनि त्यसो भएको हुनुपर्छ।

जंगबहादुर राणा बेलायत जाँदा होस् या चन्द्रशमशेर बेलायत जाँदा होस् ती दुवै भ्रमणमा नेपालबाट चित्र बनाउने चित्रकारसमेत सहभागी भएका थिए, अहिले फोटोग्राफर गएजसरी। यसबाट पनि त्यतिबेला पेन्टिङको विशेष महत्त्व रहेछ भन्ने बुझिन्छ।

यहाँ त्यस्तै एउटा तस्बिरको चर्चा गर्न लागिएको छ। तस्बिर हो, तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेरको। सन् १९४९ फेब्रुअरीमा राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेरको तस्बिरको पन्टिङ बनाउने जिम्मेवारी अमेरिकी कलाकार चार्ल्स वास्करभिलले पाएका थिए। त्यसबापत कलाकार वास्करभिललाई नेपाल सरकारले ४ हजार अमेरिकी डलर पारिश्रमिक दिएको थियो।

कसरी भित्रिए वास्करभिल?

सन् १९४७ अप्रिलमा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसपछि नेपालमा अमेरिकी नागरिकलाई प्रवेश सहज हुन थाल्यो। १९४८ मा नेपाल सरकारले अमेरिकी वैज्ञानिकको एक प्रतिनिधिमण्डललाई प्रवेश  अनुमति दिएको थियो।

अमेरिकास्थित याले विश्वविद्यालयको प्राध्यापक प्राणीशास्त्री डा. डिलन रिपली नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले नेपालमा करिब ६ महिना बितायो। प्रतिनिधिमण्डलमा याले विश्वविद्यालय, स्मिथसोनियन इन्स्टिट्युसन, दी पी बडी म्युजियम अफ नेचुरल हिस्टोरी र नेसनल जियोग्राफिकल सोसाइटीका गरी कुल ६ जना विद्वान् सहभागी थिए। (न्युयोर्क टाइम्स, २० जनवरी १९४९)

प्रतिनिधिमण्डललाई पूर्वमा सुनकोसीदेखि पश्चिममा कर्णाली नदी क्षेत्रसम्म भ्रमण अनुमति दिइएको थियो। प्रतिनिधिमण्डलका प्रमुख डा. डिलनले काठमाडौँमा प्रधानमन्त्री मोहनशमशेरसँग पनि भेट गरेका थिए। त्यही भेटघाट गर्ने सन्दर्भमा उनले मोहनशमशेरको दरबारमा शासकका ठूलाठूला पेन्टिङ तस्बिर देखेछन्। त्यसबाट उनले प्रधानमन्त्री मोहनशमशेरको पेन्टिङतर्फको आकर्षण बुझेर न्युयोर्कका प्रसिद्ध कलाकार चार्ल्स वास्करभिललाई नेपाल भित्र्याउन सिफारिस गरेका थिए।

आफूले पेन्टिङ गरेको तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेर राणाको तस्बिरका साथ कलाकार चार्ल्स वास्करभिल

डिलनको सिफारिसमा कलाकार चार्ल्स राजा र प्रधानमन्त्रीको तस्बिर उतार्न सन् १९४९ को फेब्रुअरीमा नेपाल भ्रमणमा आएका थिए। सन् १९४९ जनवरी १९ मा  न्युयोर्कबाट चार्ल्स नेपालका लागि प्रस्थान गरेका थिए। न्युयोर्क छोड्नुअघि उनले नेपाल प्रवेश गर्ने आफू पहिलो अमेरिकी कलाकार भएको दाबी गरेका थिए। नेपालमा गएर राजा र प्रधानमन्त्रीको तस्बिर बनाउने घोषणा उनले त्यहीँ गरेका थिए।

चार्ल्स दुवै विश्वयुद्धमा अमेरिकी हवाईसेनाका तस्बिरसमेत उतारेका व्यक्ति थिए। उनले त्यसअघि जयपुरका युवराज र कुचविहारका महाराजाको तस्बिरसमेत बनाइसकेका थिए।

डा. डिलनको सिफारिसमा नेपाल आएका अमेरिकी कलाकार चार्ल्स वास्करभिलले फेब्रुअरी १९४९ मा नेपालका तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेरको तस्बिर बनाएका थिए। अमेरिकाको स्मिथसोनियन इन्स्टिट्युसनको संकलनमा रहेको एउटा तस्बिरमा कलाकार चार्ल्सले राजा त्रिभुवन र प्रधानमन्त्री मोहनशमशेरको तस्बिर बनाइरहेको देखिन्छ।

त्यतिबेला पनि उक्त तस्बिर बनाएबापत कलाकार चार्ल्सलाई नेपालले ठूलै रकम दिएको थियो। उक्त रकम चार हजार अमेरिकी डलर रहेको भनी नेपालस्थित भारतीय राजदूतले आफ्नो सरकारलाई पठाएको मासिक रिपोर्टमा उल्लेख छ। (नेपालस्थित भारतीय दूतावासले दिल्लीस्थित विदेश मन्त्रालयलाई पठाएको सन् १९४९ फेब्रुअरीको मासिक रिपोर्ट)

प्रकाशित: १४ जेठ २०७९ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =