आर्काइभबाट

जब नेपालमा विश्वविद्यालय खुलेको खबर अमेरिकी सिनेटमा गुञ्जियो

सन्तोष खडेरी १० असार २०८० १५:१०
100
SHARES
जब नेपालमा विश्वविद्यालय खुलेको खबर अमेरिकी सिनेटमा गुञ्जियो अमेरिकी सिनेटमा नेपालमा विश्वविद्यालय खुलेको जानकारी गराउँदै सिनेटर वेन मोर्स।

नेपालमा शिक्षाको विकास धेरै ढिला सुरु भएको हो। शताब्दी लामो जहानियाँ राणा शासनको कालखण्डमा मुलुकमा शिक्षाको विकास ठप्प थियो। सन् १९१८ मा मुलुकको पहिलो कलेज त्रिचन्द्र कलेज स्थापना भएको थियो। दरबार स्कुल सञ्चालनमा रहे पनि सर्वसाधारण नेपालीका सन्तान त्यहाँ पढ्न पाउँदैनथे।

अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले सन् १९४८ मा विश्वविद्यालय खोल्नका लागि प्रयास थालेका थिए। तर त्यो सम्भव हुन सकेन। प्रजातन्त्र स्थापना भएपछि सन् १९५४ मा अमेरिकी सरकारको सहायता परियोजनाअन्तर्गत प्राथमिक विद्यालयलाई स्रोतसाधन उपलब्ध गराउने र शिक्षक तालिम प्रदान गर्ने कार्यक्रम चलेको थियो। त्यसअघिदेखि नै शिक्षाको अवस्थाबारे अध्ययन गर्न अमेरिकी अधिकारी नेपाल आएका थिए। त्यही कार्यक्रमअन्तर्गत नेपालमा  अमेरिकी आर्थिक र प्राविधिक सहयोग विस्तार भएको थियो।

अमेरिकी सहायताअन्तर्गत अमेरिकाको ओरेगन राज्य अवस्थित ओरेगन विश्वविद्यालयका विज्ञहरू आएका थिए। त्यही विश्वविद्यालयका शिक्षा विभागका प्राध्यापक ह्युग वी उड सन् १९५३ को अत्यन्ततिर नेपालमा खटिएका थिए। सन् १९५५ मा सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा गठन भएको नेपाल राष्ट्रिय शिक्षा आयोगका शिक्षा सल्लाहकारका रूपमा प्राध्यापक उडले आफ्नो जिम्मेवारी पूरा गरेका थिए। सन् १९५५ को सेप्टेम्बरतिर ओरेगन विश्वविद्यालयका पूर्व चान्सलर डाक्टर चार्ल्स बार्यन विश्वविद्यालय प्राविधिक सल्लाहकारका रूपमा करिब दुईवर्षे अवधिका लागि नेपाल बोलाइएका थिए। राजा त्रिभुवनको निधनको प्रथम वार्षिकीको अवसर पारेर सन् १९५६ को मार्च ३१ मा राजदरबारबाट मुमा बडा महारानीबाट विश्वविद्यालय स्थापनासम्बन्धी एउटा शाही घोषणा भएको थियो। जुन घोषणासँगै नेपालमा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको हो।
शाही घोषणा यस्तो थियो-

देशको सर्वतोन्मुखी विकास तथा कल्याणको निमित्त शिक्षा नै प्राथमिक आधार र आवश्यक मानिएको छ। सोही कुरा दिवंगत महाराजधिराज त्रिभुवनका हृदयमा पनि अन्य विकासका योजनाहरूसँगै प्रमुख भई रहेको थियो। तर समय प्रतिकुल भएकाले मौसुफको बाहुलीबाट यो देशलाई सुहाउँदो विश्वविद्यालयको स्थापना गर्ने दिव्य अभिलाषा पूर्ण हुन पाएन। मौसुफका अभिलाषाहरू पूर्ण गर्ने सम्पूर्ण अभिभारा अब तपाईंहामीमा आइपरेको छ। आज मौसुफको वर्ष दिनको पुण्य तिथिमा त्यो दिव्य अभिलाषा कार्यान्वित गर्ना निमित्त त्रिभुवन विश्वविद्यालयको स्थापना हामी दुवैबाट हुन लागेको छ भन्ने तपाईँहरूलाई सुनाउन पाउँदा हामीलाई अति हर्ष लागेको छ। उक्त विश्वविद्यालय सम्बन्धी प्रारम्भिक कार्य गर्ने एउटा कमिसनको सभापतित्व हामीले स्वीकार गरेका छौँ। विश्वविद्यालय निमित्त आवश्यक जग्गाको ठेगान छिट्टै लागि यसको केही प्रारम्भिक कामहरू व्यवस्थित हुनासाथै भवनको शिलान्यास पनि हुनेछ। उक्त योजनाको निमित्त चाहिने प्रारम्भिक खर्च पनि हामीले नै गर्ने भएका छौँ।  (समाज दैनिक, १ अप्रिल १९५६)

उक्त कसिसनका अन्य सदस्यमा माइँला अधिराजकुमार र कान्छा अधिराजकुमार शाही सदस्य, सरदार हंसमान सिंह, खड्गनसिं राणा, शिक्षा डाइरेक्टर शारदाप्रसाद उपाध्याय, प्रो. भैरवबहादुर, लक्ष्मीप्रसाद देवकोटा र परासरनारायण (सेक्रेटरी) थिए।

त्रिभुवन विश्वविद्यालय भवनको शिलान्यास गर्दै जेठा मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी।

विश्वविद्यालय स्थापनाको पूर्वाधार तयार पार्न ओरेगन विश्वविद्यालय खटिएको थियो। विश्वविद्यालय हाँक्न आवश्यक पर्ने दक्ष जनशक्ति तयार पार्न नेपालीलाई ओरेगन विश्वविद्यालयसम्म लगेर आवश्यक तालिम दिनेलगायतका काम पनि सोही विश्वविद्यालयले  गरेको थियो।

विश्वविद्यालयका प्राविधिक सल्लाहकारका रूपमा रहेका डाक्टर चार्ल्स बार्यनका अनुसार सम्भवत:  ओरेगन विश्वविद्यालय एउटा मात्र त्यस्तो अमेरिकी विश्वविद्यालय थियो जुन विदेशी मुलुकमा कुनै अर्को विश्वविद्यालय स्थापनामा खटिएको थियो।

त्रिभुवन विश्वविद्यालय स्थापना गर्नका लागि ओरेगन विश्वविद्यालयका फिजिक्सका एसोसिएट प्रोफेसर डाक्टर फ्रान्सिस ई डार्ट, ओरेगन कलेज अफ एजुकेसनका डिन पउल बी ज्याकबसन, एजुकेसनका प्रोफेसर डाक्टर क्लेरेन्स हाइन्स, आर्ट एजुकेसनका एसोसिएट प्रोफेसर थोमस ओ ब्यालिन्जरका साथ विश्वविद्यालयका अन्य विभागका सदस्यसमेत खटिएका थिए।

त्रिभुवन विश्वविद्यालय भवनको शिलान्यास जेठा मुमाबडामहारानी कान्ति राज्यलक्ष्मी र कान्छा मुमाबडामहारानी इश्वरी राज्यलक्ष्मीद्वारा सन् १९५८ जुलाई २५ (२०१५ असार ११) मा भएको थियो।

त्रिभुवन विश्वविद्यालयको विधिवत् स्थापना भने सन् १९५८ जुलाई ८ मा भएको थियो। त्यो दिन थियो पहिलो जननिर्वाचित संसद्को अधिवेशन सञ्चालन हुनु दुई हप्ताअगाडि। विश्वविद्यालय स्थापना भएको अर्को महिना ५ अगस्ट १९५९ मा काठमाडौँ अमेरिकी दूतावाससमेत स्थापना भएको थियो।

नेपालमा विश्वविद्यालय स्थापना भएको समाचार ओरेगनस्थित कुस बे वर्लडको २३ जुलाई १९५९ को अंकमा छापिएको थियो। जसको शीर्षक थियो, ‘ओरेगन ग्रुप्स सेट्स अप युनिभर्सिटी इन एसिया नेसन।’ उक्त समाचारमा ओरेगन विश्वविद्यालयका अधिकारीहरू डाक्टर चार्ल्स, उड लगायतले सन् १९५४ देखि नै नेपालको शिक्षा क्षेत्रमा पुर्याएको शैक्षिक प्राविधिक सहयोगसहित नेपालमा पहिलो विश्वविद्यालय स्थापना गर्न ओरेगन विश्वविद्यालयले दिएको योगदानको चर्चा थियो। त्यस्तै त्यसलाई अमेरिकी सहायता परियोजनाअन्तर्गतको एउटा सफल र महत्त्वपूर्ण परियोजनाका रूपमा लिइएको थियो। त्यतिबेला अमेरिकाको ओरेगन राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर थिए वेन मोर्स। ९ अगस्टमा अमेरिकी सिनेटको बैठकमा उनै सिनेटर वेन मोर्सले सिनेटका अध्यक्षलाई सम्बोधन गर्दै उक्त समाचारबारे उल्लेख गरेका थिए।

आफूले प्रतिनिधित्व गर्ने ओरेगन राज्यको शिक्षाको विकासमा उल्लेख्य योगदान दिएका ओरेगन विश्वविद्यालयका पूर्व चान्सलर डाक्टर चार्ल्स बार्यनको नेतृत्वमा नेपालमा विश्वविद्यालय स्थापना गर्ने महत्त्वपूर्ण काम भएको उनको भनाइ थियो। डाक्टर चार्ल्सले ओरेगन विश्वविद्यालयबाट अवकाश लिएपछि पनि शिक्षाका क्षेत्रमा चासो लिएर निरन्तर रूपमा कार्य गरिरहे। विश्वविद्यालयका अन्य सहकर्मीको सहयोगमा नेपालमा विश्वविद्यालय स्थापना गर्न सफल भएको वेन मोर्सको भनाइ थियो।

उनले भनेका थिए-
अध्यक्ष महोदय, मेरो राज्यका शिक्षकहरूले नेपालमा बनाएको यो बहुतै नाटकीय रेकर्ड हो। यो उनीहरूको शैक्षिक योग्यताको एउटा महान् स्मारक हो। ओरेगन राज्यको सिनेटरका रूपमा मैले कुस बे वर्ल्डमा प्रकाशित उक्त समाचार कंग्रेसको रेकर्डमा समेत प्रकाशित गर्नका लागि सर्वसम्मतिका साथ सिनेटबाट सहमति माग गर्ने विशेषाधिकार प्राप्त गर्नु मैले सम्मान सम्झेको छु। नेपालमा जुलाई ०८ मा एउटा विश्वविद्यालय स्थापना हुनु त्यहाँ ओरेगन विश्वविद्यालयले आफ्नो शैक्षिक करार सफलतापूर्वक सम्पन्न गरेको देखाउँछ। (कंग्रेसनल रेकर्ड, प्रोसेडिङ एन्ड डिबेट्स अफ दी एटिसिक्स्थ कंग्रेस फर्स्ट सेसन, भोलुम ९१०५, पार्ट-१२, १९५९)

यसरी अमेरिकी विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपालमा विश्वविद्यालय स्थापना भएको विषयलाई सिनेटर वेन मोर्सले अमेरिकी सिनेटमा उठाएका थिए। त्यस्तै यसलाई अमेरिकी सहायता परियोजनाअन्तर्गत एउटा सफल परियोजनाका रूपमा चित्रण गर्दै कुस बे वर्ल्डमा प्रकाशित उक्त समाचारलाई अमेरिकी सिनेटको कंग्रेस रेकर्डमा समेत प्रकाशित गरिएको थियो।

प्रकाशित: १० असार २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =