काठमाडौँमा पहिलो पटक विमान अवतरणको कथा

सन्तोष खडेरी २१ फागुन २०७८ १२:१२
2
SHARE
काठमाडौँमा पहिलो पटक विमान अवतरणको कथा सन् १९४९ को २३ अप्रिलमा काठमाडौँको गौचर हवाईअड्डामा अवतरण भएको पहिलो बोनान्जा बिच क्राफ्ट विमान। तस्बिर स्रोत : एनडीटीभी

काठमाडौँ- अहिले नेपालमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ। थप दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन्। अन्तर्राष्ट्रिय र आन्तरिक गरी ३५ विमानस्थल सञ्चालनमा छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१९–२० को वार्षिक प्रतिवेदनअनुसार नेपालका अन्य १९ विमानस्थल सञ्चालनमा छैनन्।

सोही प्रतिवेदनअनुसार सन् २०१९ मा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख ३८ हजार ५ सय ५३ यात्रुको आवागमन भयो। त्यस्तै आन्तरिकतर्फ ३१ लाख ८८ हजार ४ सय ७९ यात्रुले ओहोरदोहोर गरेका थिए। अन्तर्राष्ट्रिय उडानतर्फ तीनवटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वायुसेवाले १५ मुलुकका ३२ सहरमा हवाई सेवा प्रदान गरिरहेका छन्। (नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१९–२० को वार्षिक प्रतिवेदन)

प्रस्तुत आलेखमा नेपाली आकाशमा पहिलो विमानको उडान, नेपाली आकाशमा देखापरेका अन्य केही जहाज, नेपालमा अवतरण भएको पहिलो जहाज, काठमाडौँमा अवतरण पहिलो जहाज, काठमाडौँको गौचर हवाईअड्डामा अवतरित अन्य केही जहाजसहित नेपालमा व्यावसायिक उडानको सुरुवातसम्मका विषय समेटिएको छ। तथ्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छापामा प्रकाशित समाचारलाई आधार बनाइएको छ।

हिमाललाई समेत देवता मान्ने नेपालीले हिमालमाथि र देवीदेवता बसेका मन्दिरमाथि हवाईजहाज उडाएकाले देवता रिसाएर अनिष्ट भई भूकम्प आएको भन्ने विश्वासको चर्चा अन्तर्राष्ट्रिय समुदायमा समेत फैलियो।

नेपाली आकाशमा उडानको इतिहासर्फ नियाल्दा राणा कालमै पुग्नुपर्छ। सन् १९३३ को अप्रिलमा सगरमाथा आरोहणका लागि आएको ‘ह्युस्टन आरोहण दल’ ले भारत बिहारको पूर्णियाबाट पूर्वी नेपाल हुँदै सगरमाथा क्षेत्रसम्म उडान भरेको थियो। त्यसको अघिल्लो वर्ष ब्रिटिस भारत सरकारले नेपाल सरकारसमक्ष उडानका लागि अनुमति माग गर्दा हवाई रुट र उडानको उचाइका कारण तत्कालीन प्रधानमन्त्री भीमशमशेरले अस्वीकार गरिदिएका थिए।

भीमशमशेरको निधनपछि सत्तामा आएका जुद्धशमशेरले त्यसको उडान अनुमति दिए। अनि मात्र त्यो विमान नेपाली आकाशमा उडेको थियो। तर १९९० सालमा भूकम्प आएपछि भने त्यस उडानको व्यापक चर्चा भयो। हिमाललाई समेत देवता मान्ने नेपालीले हिमालमाथि र देवीदेवता बसेका मन्दिरमाथि हवाईजहाज उडाएकाले देवता रिसाएर अनिष्ट भई भूकम्प आएको भन्ने विश्वासको चर्चा अन्तर्राष्ट्रिय समुदायमा समेत फैलियो। (वेस्टर्न मोर्निङ न्युज, लन्डन, २२ जनवरी १९३५)

दोस्रो विश्वयुद्ध सुरु भइसकेपछि सन् १९४२ मा केही ब्रिटिस र अमेरिकी विमान भारतको सीमावर्ती राज्य बिहारबाट पूर्वपश्चिम उडान भर्दा नेपाली सिमानाभित्र प्रवेश गरेका थिए। नेपालको अनुमतिबिना अन्तर्राष्ट्रिय सीमा पार गरेर नेपाली आकाशमा विमान उड्नुलाई नेपालले गम्भीरतापूर्वक लिएर ब्रिटिस सरकारसमक्ष आपत्तिसमेत जनाएको थियो।

सन् १९४४ को ८ डिसेम्बरमा काठमाडौँको चार भन्ज्याङको आकाशमाथि विमान उडेको थियो। तर नजिकैको कुनै सीमावर्ती भारतीय हवाईअड्डाबाट त्यो विमान उड्दा बिहानको ८–९ बजेको समयमा कुहिरोले बाटो बिराएर आएको भन्ने गोरखापत्रमा समाचार थियो। त्यो विमान पूर्वपट्टिको बाटोबाट धुलिखेल बजारमाथि आई त्यतै फर्किएको थियो। (गोरखापत्र, १२ डिसेम्बर १९४४)

७२ वर्षपहिले राजधानी काठमाडौंस्थित गौचर हवाईअड्डामा पहिलो पटक एउटा सानो आकारको विमान अवतरण भएको थियो। त्यसको सफल अवतरणपछि नै नेपाली आकाश र गौचर हवाईअड्डामा विमान अवतरण भएर व्यावसायिक हवाईसेवा सुरु हुन सक्छ भन्ने प्रमाणित भएको हो।

त्यसरी विमान उडेको करिब एक महिनापछि सन् १९४५ को जनवरी दोस्रो साता चितवनको झुवानीमा नेपालमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ। काठमाडौँस्थित ब्रिटिस राजदूतले आफ्नो सरकारलाई पठाएको सन् १९४५ को वार्षिक प्रतिवेदनमा ‘झुवानीको खुला मैदानमा केही सय गजको क्षेत्रमा भाई सरायको दल दिल्लीबाट सीधा विमानबाट ओर्लने व्यवस्थासहितको क्याम्प तयार गरिएको थियो’ भन्ने उल्लेख भएबाट भाई सराय यसपटक दिल्लीबाट विमानमा सीधा झुवानी उत्रिएको स्पष्ट हुन्छ।

७२ वर्षपहिले राजधानी काठमाडौंस्थित गौचर हवाईअड्डामा पहिलो पटक एउटा सानो आकारको विमान अवतरण भएको थियो। त्यसको सफल अवतरणपछि नै नेपाली आकाश र गौचर हवाईअड्डामा विमान अवतरण भएर व्यावसायिक हवाईसेवा सुरु हुन सक्छ भन्ने प्रमाणित भएको हो। त्यसपछि पनि नेपालमा भारतीय विमानबाट व्यावसायिक उडान हुनुभन्दा पहिले धेरै पटक विभिन्न अवसरमा विमान अवतरण भएका थिए।

सन् १९४९ को अप्रिल २३ (२००६ वैशाख ११) मा काठमाडौँ गौचरस्थित घाँसे मैदानमा एउटा जहाज अवतरण भयो। उक्त मैदानमा भर्खरै उत्रिएको विमान चारसिटे बोनान्जा बिच एयरक्राफ्ट थियो। त्यही विमान काठमाडौँको इतिहासमा अवतरण भएको पहिलो मानिन्छ।

विमान उडाउने पाइलट ब्रिटिस भारतको शाही वायुसेवामा काम गरिसकेका स्क्वार्डन कमान्डर दलिप सिंह मजेठिया थिए। मजेठिया नेपालस्थित तत्कालीन भारतीय राजदूत सरदार सुरजित सिंह मजेठियाका भतिजा थिए। सुरजित सिंह आफैँ पनि वायुसेवाका सेवानिवृत्त अधिकारी थिए। उक्त विमान नेपालका तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुरोधमा उत्रिएको थियो। त्यहाँ विमान अवतरण गराउन उक्त घाँसेमैदानमा रनवेसमेत तयार गरी हवाईअड्डाका रूपमा विकास गरिँदै थियो।

दोस्रो विश्वयुद्धको अन्त्यपछि मजेठिया परिवारले केही पुराना विमान जुटाएर व्यावसायिक हवाईसेवा सुरु गर्ने योजना बनाएका थिए। यसै क्रममा प्रधानमन्त्री मोहनशमशेरको अनुरोधपछि मजेठिया नेपालमा नागरिक उड्डयन सेवा सुरु गर्न इच्छुक थिए। काठमाडौँमा वर्षायाममा खाद्यान्न र अन्य उपभोग्य सामग्री अभाव बढ्ने देखेपछि मोहनशमशेरले खाद्यान्न भित्र्याउन भारतीय राजदूतलाई पत्रमार्फत आग्रह गरेका थिए।

मोहनशमशेरले नेपालस्थित भारतीय राजदूत सरदार सुरजित सिंहलाई पठाएको पत्रमा लेखिएको थियो– ‘डकोटा विमान अवतरणका लागि अवतरणस्थल चाहिने र त्यो तयार हुन कठिन हुने थाहा पाएपछि वर्षायामपछि काठमाडौँमा धान ढुवानी गर्न साना विमान प्रयोग गर्न सकिन्छ कि भन्ने मैले सोचिरहेको छु। यस विषयमा तपाईंले सुझाव दिनुभएमा म आभारी हुनेछु। मेरो प्रस्ताव सम्भव लागेमा तपाईं यसको आवश्यक व्यवस्था, गुणस्तर, लागत र आवश्यक सूचनासहितको प्रस्ताव तयार गरी मलाई पठाउनुहोला।’ (वायु  म्यागेजिन २०१० अप्रिल)

मोहनशमशेरको प्रस्तावबाट राजदूत सुरजित सिंह उत्साहित भए र आफ्ना युवा भतिजा दलिप सिंह मजेठियालाई समेत उत्प्रेरित गर्दै पत्र पठाए। ७ जुन १९४८ मा राजदूत सुरजितले भतिजा दलिपलाई पठाएको पत्रमा काठमाडौँको भूगोलको वर्णन गरेका थिए। सोही पत्रमा विमान अवतरण गर्ने ठाउँको अवस्थाको समेत वर्णन गरेका थिए। त्यसको केही समयपछि पुनः १६ जुनमा राजदूत सुरजितले भतिजा दलिपलाई पठाएको अर्को पत्रमा काठमाडौँ गौचरनमा पहिलो विमान अवतरणका लागि गरिएको व्यवस्थासमेत उल्लेख गरेका थिए। उनले पशुपति मन्दिर छेउमा रहेको खाली गौचरनमा अवतरण गर्ने तरिका, हावाको वेग र उचाइबारे समेत विस्तृत वर्णन गरेका थिए। १६ जुनको अर्को पत्रमा राजदूत सुरजितले भतिजा दलिपलाई विमान अवतरण गर्ने योजनासहित विस्तृत विवरण उल्लेख गरेका थिए। काठमाडौँमा विमान अवतरण गर्ने योजना सन् १९४८ को जुनमा बने पनि विमान अवतरण हुन भने अर्को १० महिना लाग्यो।

२३ अप्रिलमा भारत बिहारको मुजफ्फरपुरबाट उडेको चारसिटे बोनान्जा बिच एयरक्राफ्ट विमान बिहान १० बजे काठमाडौँको गौचर हवाईअड्डामा सफलतापूर्वक अवतरण भएको थियो।

गौचरनस्थित हवाईअड्डामा विमान अवतरण गर्ने बारे गोरखापत्रले समेत अग्रिम सूचना जसरी एउटा समाचार छापेको रहेछ। तर विमान गोरखापत्रले सूचनामा दिएको समयमा भने उत्रिएन। सन् १९४९ को १८ अप्रिलमा छापिएको समाचार यस्तो थियो– ‘सोमबार बिहानको मौसम अनुकूल भएमा करिब १० बजेतिर हिन्दुस्थानबाट हवाईजहाज आई नयाँ बनेको गौचर हवाई अड्डामा उत्रने कुरो छ।’

यो सूचना छापिएको पाँच दिनपछि २३ अप्रिलमा गौचर हवाईअड्डामा जहाज अवतरण भयो। सारा काठमाडौँवासी अचम्मित हुने गरी पहिलो पटक त्यस्तो विमान अवतरण भएको थियो।

२३ अप्रिलमा भारत बिहारको मुजफ्फरपुरबाट उडेको चारसिटे बोनान्जा बिच एयरक्राफ्ट विमान बिहान १० बजे काठमाडौँको गौचर हवाईअड्डामा सफलतापूर्वक अवतरण भएको थियो। विमान उडाउने पाइलट दलिप सिंहको स्मरणअनुसार उक्त विमान पहिलो पटकमा सीधा अवतरण नभई दोस्रो पटकमा मात्र अवतरण भएको थियो। अप्रिल अन्त्य अर्थात् वैशाख सुरुतिर काठमाडौँको आकाशमा बाक्लो बादल थियो। केही बेर काठमाडौँको आकाशमा चक्कर लगाएपछि मात्र विमान सफलतापूर्वक अवतरण भएको थियो।

विमान अवतरण भएदेखि बेलुकी ६–७ बजेसम्म त्यहाँ असंख्य मानिस हेर्न पुगेका थिए। २५ अप्रिलमा छापेको गोरखापत्रको समाचारअनुसार विमान हेर्न हजारौँ साइकल र मोटरहरूको  जमघट थियो। पैदलयात्री दर्शक कति थिए भन्ने त लेखाजोखा नै थिएन। सोही बेलुकी साढे ५ बजेतिर राजा त्रिभुवन, प्रधानमन्त्री मोहनशमशेर, कमान्डर इन चिफ केशरशमशेरलगायत अन्य जनरलहरूको समेत त्यहाँ सवारी भएको थियो। भारतीय राजदूत सरदार सुरजित सिंह मजेठिया र ब्रिटिस राजदूत फाल्कनरसमेत त्यहाँ उपस्थित थिए।

राजा त्रिभुवनले निकै चाखपूर्वक जहाज निरीक्षण गरेका थिए। पाइलट दलिप सिंहले राजा त्रिभुवनलाई जहाजबारे जानकारी गराएका थिए। राजाले जहाजको निरीक्षण गरेपछि भारतीय राजदूत सरदार सुरजित सिंहले सो जहाज सञ्चालन गरी केही माथिसम्म उडाएका थिए। जहाज उडाउँदा जहाजमा मजेठियाका साथमा मेजर जनरल ध्रुवशमशेरसमेत उपस्थित थिए। राजा र प्रधानमन्त्री दुवैजना त्यहाँबाट फर्किएपछि उचित बन्दोबस्तका साथ सो जहाजलाई रातभर त्यहीँ राखिएको थियो। भोलिपल्ट बिहान ११ः४५ तिर सो जहाज काठमाडौँबाट मुजफ्फरपुरतर्फ फर्काइएको थियो। (गोरखापत्र, २००६ वैशाख १२) 

काठमाडौँमा पहिलो विमान अवतरण भएको खबरले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्राथमिकता पाएको थियो। त्यस घटनालाई अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेस, रोयटर्स लगायतले ‘नेपालमा पहिलो विमान अवतरण’, ‘नेपालको राजधानी काठमाडौँले पहिलो विमान देख्यो’, ‘उनीहरूको पहिलो विमान’ जस्ता शीर्षकमा संसारभर समाचार सम्प्रेषण गरेका थिए। (दि स्ट्रेट्स टाइम्स सिंगापुर २८ अप्रिल १९४९)

डकोटा विमान उडाउने पाइलट मेहर सिंह थिए। मेहर सिंह अघिल्लो वर्ष भारतको काश्मीर अप्रेसनका क्रममा त्यहाँको लेह क्षेत्रमा विमान अवतरण गराउने पहिलो व्यक्ति थिए।

काठमाडौँमा अवतरण भएको पहिलो विमानको तस्बिरसहितको समाचार लन्डनबाट प्रकाशित हुने इलुस्ट्रेटेड लन्डन न्युजको २१ मे १९४९ को अंकमा प्रकाशित भएको थियो। सानो चारसिटे बोनान्जा बिच एयरक्राफ्ट पहिलो पटक काठमाडौँको गौचर हवाईअड्डामा सफलतापूर्वक अवतरण हुनु नेपालको हवाई उड्डयन क्षेत्रको इतिहासमा एउटा महत्त्वपूर्ण घटना थियो। उक्त सफल अवतरणले नेपालमा विमान अवतरण हुन सक्छ भन्ने कुरा प्रमाणित गर्‍यो।

लन्डनबाट प्रकाशित इलुस्ट्रेटेड लन्डन न्युजको २१ मे १९४९ को अंकमा छापिएको काठमाडौँको गौचर हवाईअड्डामा अवतरण भएको पहिलो विमानको तस्बिरसहित समाचार।
पहिलो विमान अवतरण भएको पाँच हप्ताभित्रमा अर्को विमानसमेत सफलतापूर्वक अवतरण भयो। यसपटक भने नेपालले अवतरण गराउन चाहेको अघिल्लोभन्दा ठूलो डकोटा विमान अवतरण भएको थियो। डकोटा विमान उडाउने पाइलट मेहर सिंह थिए। मेहर सिंह अघिल्लो वर्ष भारतको काश्मीर अप्रेसनका क्रममा त्यहाँको लेह क्षेत्रमा विमान अवतरण गराउने पहिलो व्यक्ति थिए। विमान अवतरणका लागि गौचर हवाईअड्डा राम्रो भए पनि त्यसलाई थप विस्तार गर्नुपर्ने सुझाव उनले दिएका थिए। (दि इन्डियन एक्सप्रेस, १० जुन १९४९)

सन् १९४९ को ८ जुन (२००६ जेठ २६) मा नेपालमा कार्यकाल पूरा गरी फर्कन लागेका भारतीय राजदूत सरदार सुरजित मजेठिया र उनको परिवारलाई लिन डकोटा विमान आएको थियो। सुरजितको १४ सदस्यीय परिवार र एउटा कुकुर लिएर उक्त विमान काठमाडौँबाट भारतको मुजफ्फरपुर फर्किएको थियो। यसबारे गोरखापत्रमा यस्तो समाचार छापिएको थियो– ‘नेपालस्थित भारतीय राजदूत सरदार सुरजित सिंह मजेठियाको बदलामा चन्द्रेश्वर नारायणप्रसाद सिंह आउने भएकाले निजका जहान परिवारसहित २६ जेठको दिउँसो १२ बजेतिर काठमाडौँ गौचर हवाईअड्डाबाट हवाईजहाजद्वारा हिन्दुस्थान रवाना भए। निजलाई लिन आएको हवाईजहाज केही दिनअघि काठमाडौँमा उत्रेकोभन्दा धेरै ठूलो थियो। सिंहको बिदाइका निम्ति मेजर जनरल शारदाशमशेर जबरा, मेजरजनरल विजयशमशेर जबरा, नेपालस्थित भारतीय दूतावासका जनाना–मर्दाना पनि सबै उपस्थित थिए। ब्रिटिस दूतावासका जनाना–मर्दाना पनि उपस्थित थिए। सबैसँग बिदावारी हुँदा उनको चेहरामा नेपालप्रति उनको प्रेम खुब गाढा छ कि जस्तो झल्कन्थ्यो। हवाईजहाजबाट उड्नासाथ १९ तोपको सलामी भयो।’ (गोरखापत्र, २००६ जेठ २८)

काठमाडौँमा लगातार दोस्रो पटक पनि सफलतापूर्वक विमान अवतरण भएको घटनालाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले समेत नेपालको नागरिक उड्डयन क्षेत्रको इतिहासमा महत्त्वपूर्ण घटना बताएका थिए। साथै यसबाट नेपाल र भारतका बीच छिट्टै हवाई उड्डयनसेवा सुरु हुने आशा देखिएको उल्लेख गरेका थिए। (समाचार संस्था एपीआई, १० जुन १९४९)

त्यसको झन्डै नौ महिनापछि २७ मार्च १९५० मा काठमाडौँमा अर्को जहाज अवतरण भयो। दिउँसो पौने १२ बजे भारततर्फ जान लागेका शिक्षा डाइरेक्टर मेजर जनरल मृगेन्द्रशमशेर जंगबहादुर राणालाई लिन गौचर हवाईअड्डामा जहाज अवतरण भएको थियो। त्यतिबेला मिनिस्टर बबरशमशेर, ज‌ंगीलाठ केशरशमशेर लगायतका अन्य जनरलसमेत हवाईअड्डामा पुगेका थिए। उक्त विमान करिब २ बजेतिर जनरल मृगेन्द्रलाई लिएर भारततर्फ उडेको थियो। (गोरखापत्र, २९ मार्च १९५०)

एक सातापछि काठमाडौँमा फेरि अर्को जहाज अवतरण भयो। जहाजमा उड्ने यात्रु नेपालस्थित भारतीय राजदूत सर चन्द्रेश्वरप्रसाद नारायण सिंह थिए। ३ अप्रिल १९५० मा दिउँसो २ बजे उनी गौचर हवाईअड्डाबाट विमानमा सवार भई दिल्लीतर्फ उडेका थिए। सन् १९५० को सन्धिको मस्यौदामाथि नेपाल र भारतीय प्रतिनिधिमण्डलबीच नयाँदिल्लीमा हुने वार्तामा सहभागी हुन उनी दिल्ली गएका थिए। (गोरखापत्र, ५ अप्रिल १९५०)

विजयलाई बिदा गर्न प्रधानमन्त्री मोहनशमशेर आफैँ विमानस्थलसम्म पुगेका थिए। यस्तै मेजर जनरल शारदाशमशेर, वसन्तशमशेर, अर्जुनशमशेरलगायत अन्य अधिकारीसमेत उनलाई बिदाइ गर्न विमानस्थलमा पुगेका थिए।

भारतीय राजदूत दिल्ली उडेको तीन दिनपछि नेपालका परराष्ट्र विभागका डाइरेक्टर जनरल हवाईजहाजमै दिल्ली उडे। ६ अप्रिल १९५० का दिन मेजर जनरल विजयशमशेर नेपाल र भारतबीच सम्पन्न हुन लागेको सन्धिको मस्यौदामाथि थप छलफल गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गए। सोही मार्च २९ मा सिंहदरबारमा नेपाल र भारतबीच प्रस्तावित सन्धि मस्यौदामाथि भारदारीसभा भएको थियो। सभाले सन्धिका मुख्य सिद्धान्तहरू सबै सन्तोषजनक ढाँचासँग तय भएको निष्कर्ष निकालेको थियो। सानातिना विवरण र कार्यक्रम मिलाउन बाँकी भएकाले भारतसँग छलफल गर्न विजयशमशेरलाई दिल्ली पठाउने निर्णय भएको थियो।

विजयलाई बिदा गर्न प्रधानमन्त्री मोहनशमशेर आफैँ विमानस्थलसम्म पुगेका थिए। यस्तै मेजर जनरल शारदाशमशेर, वसन्तशमशेर, अर्जुनशमशेरलगायत अन्य अधिकारीसमेत उनलाई बिदाइ गर्न विमानस्थलमा पुगेका थिए। विजयशमशेर करिब तीन सातापछि पुनः हवाईजहाजबाट नेपाल फर्किए।  (गोरखापत्र, ८ र २५ अप्रिल १९५०)

गौचर हवाईअड्डामा एकै पटक धेरै विमान भने २५ अप्रिल १९५० का दिन अवतरण भएका थिए। त्यस दिन लक्ष्मीनिवासमा नेपालका प्रधानमन्त्री मोहनशमशेरकी नातिनी (शारदाशमशेरकी छोरी) यशोधरा राज्यलक्ष्मी र जम्मुकश्मीरका युवराज करण सिंहको विवाह उत्सवको कार्यक्रम थियो। समारोहका लागि भारतका विभिन्न राजारजौटा विमानद्वारा काठमाडौँ आएका थिए। मोहनशमशेर आफैँ बेहुला करणसिंहलाई स्वागत गर्न हवाईअड्डा पुगेका थिए। एकै पटक त्यति धेरै हवाईजहाज ओर्लिएको घटनालाई अचम्म मान्दै त्यस दिन त्यहाँ विमान हेर्नेको ठूलो भीड जम्मा भएको थियो। (गोरखापत्र, २५ अप्रिल १९५०)

१६ जुनमा कलकत्ताको दमदम विमानस्थलबाट पहिलो डकोटा विमान पटना हुँदै काठमाडौँका लागि उड्यो। विमानमा चालक दलका चारजना सदस्यसहित अन्य थप छजना सवार थिए।

सन् १९५० को जुनमा नेपाल र भारतबीच व्यावसायिक हवाई उड्डयन सेवा सुरु हुने सहमति भयो। त्यसका लागि भारतको ‘इन्डियन नेसनल एयरवेज’ ले कलकत्ताबाट पटना हुँदै काठमाडौँसम्म सातामा एकपटक विमान उडाउने दुई महिनाको अस्थायी लाइसेन्ससमेत प्राप्त गरेको थियो। त्यसैअनुसार १६ जुनमा कलकत्ताको दमदम विमानस्थलबाट पहिलो डकोटा विमान पटना हुँदै काठमाडौँका लागि उड्यो। विमानमा चालक दलका चारजना सदस्यसहित अन्य थप छजना सवार थिए। विमानमा भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसादका छोरा मृत्युञ्जयसमेत थिए।

उक्त दिन काठमाडौँमा विमान अवतरण गर्ने दुई–दुई पटकको प्रयास विफल भयो र जहाज अवतरण गर्न नसकी भारततर्फ फर्कियो। कलकत्ताबाट उडेको विमान पहिले त मौसमका कारण केही समय पटनामा रोकिएको थियो। बाक्लो कुहिरोका कारण विमानले अवतरण गर्ने हवाईअड्डा नै फेला पार्न सकेन भने दोस्रो पटक विमान चालकले रनवे राम्रोसँग नदेखकाले विमान अवतरण हुन नसकी कलकत्ता फर्किएको थियो। (इन्डियन डेली मेल, २४ जुन १९५०)

उक्त विमान त्यसै दिन १० बजे काठमाडौँमा अवतरण हुने खबर थियो। सोही विमानमा नेपालबाट भारततर्फ जान १३ जनाले हवाई टिकट पनि लिइसकेका थिए। १७–१८ वटा मोटर र बसमा भरिभराउ भएर मानिस सो उत्सव हेर्न हवाईअड्डा पुगेका थिए। नेपालस्थित भारतीय राजदूत र नेपालका परराष्ट्र विभागका डाइरेक्टर जनरलसमेत त्यहाँ पुगेका थिए।

भारतीय दूतावासबाट आएको खबरअनुसार पटनाबाट विमान आउँदै–फर्कँदै गयो तर चार भन्ज्याङको खाल्डोलाई फेला पार्न नसकेकाले विमान अवतरण नगरी उतै फर्कियो। हवाईअड्डामा जम्मा भएका यात्रु र दर्शक एकपटक त फर्किएर बानेश्वरसम्म पनि पुगेका थिए तर फेरि विमान आएको हल्लाले उतै लागेका थिए। काठमाडौँको आकाशलाई दिनभर बादलले ढाकेकाले विमान अवतरण हुन सकेन। साइत गरी भारततर्फ जान आएका यात्रुसमेत घरै फर्किए। (गोरखापत्र, १६ जुन १९५०)

नेपाली यात्रुलाई पनि काठमाडौँ छाड्न र प्रवेश गर्न राहदानी चाहिन्थ्यो। यात्रुलाई जहाजको टिकट र आवश्यक राहदानीको व्यवस्था मुलुकी अड्डाले गर्दथ्यो।  १९ जुनका दिन प्रचार विभागले गोरखापत्रमा एउटा सूचना जारी गरेको थियो। जसमा २२ जुनका दिन मौसम ठीक भएमा हवाईजहाज आउने भएकाले त्यसबाट यात्रा गर्ने यात्रुहरूलाई मुलुकीअड्डाबाट टिकट र राहदानी लिन जानकारी गराइएको थियो। तर त्यो जहाज आउनु अघिल्लो दिन नै हवाईसेवा केही दिनका लागि बन्द भएको अर्को सूचना जारी भयो।

उक्त विमान अवतरण हुन नसकेपछि काठमाडौँमा वर्षायाममा विमान अवतरण हुन सक्दैन भन्ने धारणा बलियो भयो। उक्त एयरवेजलाई जारी गरिएको अस्थायी लाइसेन्ससमेत खारेज भयो। त्यसैले वर्षायाम अन्त्य नहुँदासम्म विमान उडान स्थगित गर्ने र वर्षा पुनः सुरु गर्ने भन्ने भयो। (दि इन्डियन एक्सप्रेसका विभिन्न अंक)

नेपाल आएको पहिलो विमान चढ्ने यात्रुको संख्या धेरै रहेकाले प्रचार विभागले अघिल्लो शुक्रबार नै राहदानी लिएर टिकट खरिद गरेमा मात्र जहाज चढ्न पाउने सूचना जारी गरेको थियो।

‘इन्डियन नेसनल एयरवेज’ को यात्रुवाहक सेवा रोकिए पनि त्यो बीचमा नेपालका सरकारी अधिकारी र भारतीय राजदूतको भारत आवतजावत भने विमानबाटै भइरह्यो। वर्षायाममा रोकिएको उडान सोही १२ अक्टोबर १९५० मा आएर हप्तामा एउटा उडान भर्ने गरी पुनः सुरु भयो। अघिल्लो दिन ११ अक्टोबरमा भारतका तत्कालीन प्रसारणमन्त्री रफी अहमद किदवईले भारत र नेपालबीच सुरु हुन लागेको हवाईसेवाबारे शुभकामना सन्देश जारी गरेका थिए। सन्देशमा उनले भारतको कलकत्ता र नेपालको काठमाडौँबीचमा सुरु हुने हवाईसेवाले दुई मुलुकका बीचमा व्यापार वृद्धि हुने र समझदारी बन्ने विश्वास गरेका थिए। (भारतको प्रेस सूचना विभागको विज्ञप्ति)

त्यस उडानलाई नेपाल सरकारले परीक्षात्मक उडानको संज्ञा दिएको थियो। प्रचार विभागको विज्ञप्तिअनुसार उक्त उडान सातामा एक दिन बिहीबार सबेरै कलकत्तादेखि पहिले पटना आएर त्यहाँबाट बिहान ११ बजे काठमाडौँ  अवतरणको कार्यतालिका थियो। उक्त विमान सोही दिन मध्याह्न १२ बजे काठमाडौँबाट पटना हुँदै कलकत्ता फर्कने गर्दथ्यो। कलकत्तातर्फ जाने यात्रुका लागि विमान कम्पनीले पटनामा खानाको बन्दोबस्त गरेको थियो।

नेपाल आएको पहिलो विमान चढ्ने यात्रुको संख्या धेरै रहेकाले प्रचार विभागले अघिल्लो शुक्रबार नै राहदानी लिएर टिकट खरिद गरेमा मात्र जहाज चढ्न पाउने सूचना जारी गरेको थियो। ‘इन्डियन नेसनल एयरवेज’ कम्पनीको काठमाडौँ प्रतिनिधि इन्द्रचोकका विश्वम्भरलाल शर्मा रहेछन् र कार्यालय अमृतभण्डारमा थियो। कार्यालय बिहान २ घण्टा (८-१० बजेसम्म) र साँझ १ घण्टा (४-५ बजेसम्म) खुला रहन्थ्यो।

विज्ञप्तिमा विमानको भाडा दर पनि तोकिएको थियो। बयस्क यात्रु, बालबालिका र काखे बालबालिकाको भाडादर अलग अलग थियो। यसैगरी एकतर्फी र दुईतर्फी  भाडादर अलगअलग थियो।

विज्ञप्ति ०६ नोभेम्बरका दिन गोरखापत्रमा प्रकाशित भएको र त्यसै दिन राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिएका थिए। राजाले शरण लिएकैले उडान तालिकाअनुसार ०९ नोभेम्बरमा हुनुपर्ने साप्ताहिक उडान नेपाल सरकारले हुन दिएन। २००७ सालको क्रान्तिपछि मात्र उडान हुन थालेको थियो।

उडान सुरु भएको केही हप्तापछि ६ नोभेम्बरमा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिए। त्यसपछि नेपाल सरकारले उक्त विमानसेवा बन्द गरिदियो। २००७ सालको क्रान्तिभर त्यो सेवा अवरुद्ध भयो। यसरी कहिले वर्षा त कहिले राजनीतिक कारणले पटक–पटक बन्द हुन पुगेको विमान सेवा नेपालमा प्रजातन्त्र आगमनलगत्तै फेरि सञ्चालनमा आयो।

कलकत्ता–पटना र काठमाडौँबीच मात्र सीमित विमान सेवा मुलुकमा प्रजातन्त्र आगमनपछि नेपालका अन्य चार ठाउँमा विस्तार भयो। सन् १९५२ को १ सेप्टेम्बरमा अन्तरदेशीय विमान सेवा सुरु गर्न नेपालले हिमालयन एभियसन लिमिटेडलाई एक वर्षको अस्थायी लाइसेन्स जारी गरेको थियो। नेपालका अन्य चार नयाँ ठाउँ विराटनगर, सिमरा, जनकपुर र पोखरा थिए। भारतको समेत नयाँ गन्तव्यमा गोरखपुर थप भएको थियो। (गोरखापत्र, ३ सेप्टेम्बर १९५२)

नेपालमा १ जुलाई १९५८ मा प्रथम पञ्चवर्षीय योजना अवधिमा छुट्टै ऐनअन्तर्गत शाही नेपाली वायुसेवा निगमको स्थापना भयो। निगम स्थापनापछि एक डी–३ विमान र ९७ जना कामदारबाट आन्तरिक हवाईसेवा सुरु भयो। ३ जुलाई १९५८ मा नियमित हवाईसेवा सुरु हुँदा काठमाडौँबाट विराटनगर, सिमरा, पोखरा र भैरहवासम्मको उडानको व्यवस्था गरिएको थियो। (संस्थान परिचय, तेस्रो संस्करण, २०४४ रत्न पुस्तक भण्डार)

यसरी नेपाली आकाशमा चारसिटे बोनान्जा बिच एयरक्राफ्ट, २४ सिटे डकोटा, विभिन्न समारोहमा ओर्लिएका अन्य जहाज, इन्डियन नेसनल एयरवेज, हिमालयन एभियसन लिमिटेडसँगै शाही नेपाली वायुसेवा निगमसम्म आइपुग्दा व्यावसायिक हवाईसेवा सुरु भएको हो।

प्रकाशित: २१ फागुन २०७८ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =