जब दस गजजति रेल चलेपछि राजा र प्रधानमन्त्री ओर्लिए…

सन्तोष खडेरी १४ फागुन २०७८ १२:१६
जब दस गजजति रेल चलेपछि राजा र प्रधानमन्त्री ओर्लिए… रेलवे उद्घाटन समारोहमा सम्बोधन गर्दै मार्टिन कम्पनीका लेस्ली मार्टिन।

नेपालमा सञ्चालनमा आएको पहिलो रेल उद्घाटन सन् १९२७ को फेब्रुअरी १६ (१९७३ फाल्गुन ५) मा अमलेखगन्जमा भएको थियो। राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेर रेल उद्घाटन गर्न त्यहाँ पुगेका थिए। त्यसको तयारी रेलवे निर्माणको जिम्मा लिएको मार्टिन कम्पनी र नेपाल सरकारले गरेका थिए। नयाँ रेलवे प्लेटफार्मको उत्तरतर्फको चौरमा एउटा पाल टाँगिएको थियो। त्यसलाई दरबार पाल भनिएको थियो। दरबार पालमा हुने कार्यक्रम देखिने गरी केही पर अर्को एउटा पाल टाँगिएको थियो। यो पाल गैरसैनिक, भद्रभलाद्मीसहितका दर्शकका लागि छुट्याइएको थियो। पालदेखि स्टेसनको अर्को प्लेटफर्मसम्म नेपाल र बेलायतको झन्डा फहराइएको थियो। पाल आसपास रङ्गीबिरङ्गी ध्वजापताका सजाइएको थियो भने बाँस र केराको थामको स्वागतद्वार बनाइएको थियो। स्वागतद्वारमा बोटबिरुवाका पातसहित फूलमालाले सजाइएको दृश्य निकै आकर्षक देखिन्थ्यो।

दर्शक पालको पछाडि आठ पहरिया गारत, अरु पल्टनसहितका अन्य केही जनता दर्शकका रुपमा बसेका थिए। तिनीहरुभन्दा अघिल्तिर रेलवेमा काम गर्ने मजदुर र कर्मचारी बसेका थिए।

राजा र प्रधानमन्त्रीबाहेकका अन्य सम्पूर्ण अतिथि दिउँसो २ बजेसम्म आ-आफ्नो स्थानमा आसन ग्रहण गरिसकेका थिए। दरबार पालको ठिकअगाडिको रेलको लिकमा गार्ड अफ अनर प्रदान गर्नका लागि ब्यान्ड बाजासहित एक सैन्य टुकुडी खडा थियो। रेलवे स्टेसन ठिक अगाडि चन्द्रसूर्य अंकित नेपालको ठूलो राष्ट्रिय झण्डा फहराइरहेको थियो। दर्शक पालको पछाडि आठ पहरिया गारत, अरु पल्टनसहितका अन्य केही जनता दर्शकका रुपमा बसेका थिए। तिनीहरुभन्दा अघिल्तिर रेलवेमा काम गर्ने मजदुर र कर्मचारी बसेका थिए। समारोह स्थलमा सिँगारिएका हात्तीसमेत खडा गरिएका थिए।

दायाँतर्फको लिकमा ‘पशुपति’ र ‘गुह्येश्वरी’ नाम लेखेका इन्जन जडित डब्बासहितका दुई रेल थिए। बायाँतर्फ अड्डाका कर्मचारीहरु लामबद्ध उभिएका थिए। दिउँसो ३ बजे मोटरमा सवार भएर प्रधानमन्त्री चन्द्रशमशेर समारोहस्थलमा पुगे। सैन्य टुकुडीले उनलाई सलामी दियो। त्यसपछि उनी दरबार पालभित्र पसे। ३ बजेर १० मिनेटमा अर्को कारमा राजा त्रिभुवन मोटरमा सवार भएर त्यहाँ आइपुगे। सैन्य टुकुडीले राजालाई पनि सलामी अर्पण गर्‍यो। प्रधानमन्त्री पालबाट बाहिर निस्किएर राजालाई स्वागत गरी उनलाई दरबार पालमा लिएर गए। राजा र प्रधानमन्त्री पछिल्ल्तिरबाट पालमा निर्माण गरिएको मञ्चमा उक्लिए। दुवै जना विशेष कुर्सीमा बसे। दायाँतर्फका कुर्सीमा जनरल अफिसर र बायाँतर्फका कुर्सीमा गुरुज्यू, साहेबज्यू, काजी र अफिसर बसेका थिए।

समारोहमा रेलवे निर्माण कम्पनी मार्टिन एन्ड कम्पनीका प्रतिनिधिका रुपमा लेस्ली मार्टिन उपस्थित थिए। उनी राजा र प्रधानमन्त्रीको अर्कोतर्फ उनीहरुसँग आमनेसामने भएर बसेका थिए। उनका पछाडि सोही कम्पनीका इन्जिनियरहरु सीजे हेन्ड्री र गिरीशचन्द्र दास बसेका थिए। समारोहको रिपोर्टिङका लागि कलकत्तास्थित स्टेट्स्म्यान अखबारका प्रतिनिधि आएका थिए। उनी मञ्चको एउटा कुनामा कुर्सीमा बसेर कागजमा लेखिरहेका थिए।

आजको ठूलो र चीरस्मरणीय उत्सव नेपालको इतिहासमा सम्झनलायक हुनेछ। आज मेरो कम्पनीका तर्फबाट हजुरको स्वागतका निम्ति यो रेलको साँचो रहेको बाकस हजुरमा चढाउँछु, यसलाई झिकी लाइनमा रहेको पहिलो इन्जिन चलाएर रेल खुल्यो भन्ने कुरा जाहेर गरिदिनुस्।

बिगुल र साइरन बजिसकेपछि लेस्लीले सम्बोधन गरेका थिए। उनको सम्बोधन रेशमी कपडामा छापिएको थियो भने माथि र तल सुनको डण्डी लागेको थियो। सम्बोधनको केही अंश यस्तो थियो-
“श्री ३ महाराज हजुरको उन्नतितर्फ ढल्केको नीति शैलीले गर्दा नेपाल सरकारबाट मञ्जुर गरी गत वर्षदेखि ठेक्कामार्फत यो रेल बनाउने काम गरिरहेकोमा सो ठेक्काको म्याद अगाडि नै काम सकिएकाले अहिले मलाई बडो हर्ष र अभिमान प्राप्त भएको छ। यो काम यति चाँडो सकिएको हुनाले आज यो रेल खोल्न हामीले हजुरमा बिन्ती चढाउन पायौं। यस रेलवे लाइनको नाप साँघुरो छ तापनि नेपाल र भारतका बीचमा एक अत्यावश्यक फराकिलो पुल हुन आएकाले म यसलाई कालान्तरसम्म प्रजाको हित र फलप्राप्तिको कारण हुनेछ भनी बिन्ती चढाउने उम्मिद राख्न सक्दछु। आजको ठूलो र चीरस्मरणीय उत्सव नेपालको इतिहासमा सम्झनलायक हुनेछ। आज मेरो कम्पनीका तर्फबाट हजुरको स्वागतका निम्ति यो रेलको साँचो रहेको बाकस हजुरमा चढाउँछु, यसलाई झिकी लाइनमा रहेको पहिलो इन्जिन चलाएर रेल खुल्यो भन्ने कुरा जाहेर गरिदिनुस्।”  (गोरखापत्र २१ फेब्रुअरी १९२७)

त्यसपछि प्रधानमन्त्री चन्द्रशमशेरले नेपालीमा सम्बोधन गरे। उनको सम्बोधनको केही अंश यस्तो थियो-

“रेल, मोटरबाटो र रोपवे हाम्रो पहाडी राजधानी काठमाडौँसमेत सुगम भारतसँग जोडिन गएको छ। अब उप्रान्त अनाजको र घरगृहस्थीलाई नभई नहुने भएका जरुरी माल सामानहरुको समेत महँगी हराउँदै जानाले सबैलाई सुखसन्तोषको समय आउला भन्ने ठूलो उम्मिद गरेका छौँ। असल कुरामा एक पाइला भए पनि अघि बढ्न सक्नु सन्तोषको कुरा हुनाले यो रेलवेको उठान पनि त्यस्तै एक पाइला मात्रको भए तापनि हालसाललाई पुगेको छ भन्ने हामीलाई लागेको छ।

यस रेलबाट अर्को फाइदा के देखिन आएको छ भने बर्सेनि शिवरात्रिमा श्री पशुपतिनाथको दर्शन गर्न भनी आउने हज्जारौं यात्रुले पहिले पानी नभएको र अहिले पानी खराब औलो लाग्ने बाटोबाट थकाइले ग्रस्त हुँदै पैदल हिँड्नुपर्ने भएकामा यो रेलले त्यो ज्यादै खराब बाटो छोट्याइदिने भयो। यो थप खुसीको कुरा हुन आएको छ।

दुई दिनपछि १८ फेब्रुअरीको दिउँसो १ बजे राजा र प्रधानमन्त्री रेलमा सवार भई अमलेखगन्जबाट रक्सौलतर्फ प्रस्थान गरे। रक्सौलबाट उनीहरु बेलुकी ७:२५ बजे अमलेखगन्ज फर्किए।

यो नयाँ उठान भएको रेलवेको काममा सबैलाई धन्यवाद दिनुपर्ने भएकोमा अहिले मार्टिन कम्पनीलाई हामी मनैदेखि धन्यवाद दिन्छौं। उनीहरुले पनि आफ्नू कम्पनीको इज्जतलाई र हामीले उनीमाथि पत्यार गरी सुम्पेको भारलाई समेत सुहाउने गरी यो काम गरेका र गर्ने पनि छन् भन्ने हामीलाई विश्वास छ। यसै कम्पनीका चिफ इन्जिनियर गिरीशचन्द्र दासको उत्साह र मेहनतको पनि हामीले यस मौकामा सह्रना नगरी हुँदैन। किनभने यिनैका अटुट परिश्रम र उत्साहले गर्दा नै आज हामीले यति चाँडै यो उत्सव मनाउन पाएका छौँ।”

राजालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले थप भने-

“यात्रुहरुलाई आउने जानेमा भइरहेको कठिनाइबाट पनि सुबिस्ता हुन पाउने यो मौकामा स्वयं राजासमेत उपस्थित भई यो रेलवे खोलिनु यो यसको पूर्ण उन्नति हुँदै जाने शुभ लक्षण सम्झन्छु। नेपालका बहालवाला राजाहरुमा रेलवे खोल्नेमा मात्र होइन कि रेल चढ्नेमा पनि पहिल्ल राजा तपाईं हुनुभएकोमा बधाई दिन पाउँदा खुसी लागेको छ।

हाम्रो देशका रक्षक रहेका श्री पशुपतिनाथको आशीर्वाद सदा कायम रहोस् भन्ने हामीसबै जना मिली मनैदेखि प्रार्थना गर्नुपर्दछ। कल्याणको हज्जारौं धारा बहाउने उनै महाप्रभुको नामबाट पहिलो इन्जनको नाम रहेको छ। अब यो नेपाल गभर्मेन्ट रेलवे आज खोल्ने काम पूरा गराइदिनुस् भनी राजा श्री ५ महाराजाधिराजसँग अनुरोध गर्दछु।” (गोरखापत्र २१ फेब्रुअरी १९२७)

रेलवे उद्घाटनमा रेलवे लिकमा खडा भएको गुह्वेश्वरी नामक रेल इन्जिन।

एकछिनपछि सैन्य ब्यान्डले “सुनिलेऊ  गोर्खाली भाइ…!” भन्ने धुन बजायो। अनि अफिसर, गुरुज्यू, जनरललगायत लावालस्करसहित प्रधानमन्त्री र राजा रेल्वे लिकमा खडा भएको इन्जिनतर्फ प्रस्थान गरे। उनीहरु इन्जिन नजिकै पुग्नासाथ सैन्य ब्यान्ड बन्द भयो। समारोहका लागि विशेष किसिमको रातो कपडाको मोडेर तयार गरिएको सिँढी ल्याई मार्टिन र हेन्ड्रीले इन्जिनमा जोडे। सिँढी चढेर राजा र प्रधानमन्त्री इन्जिनमा प्रवेश गरे। कम्पनीका हेन्ड्रीले सिकाएबमोजिम दुवैले अपरेटिङ लिभर घुमाई बिस्तारै रेल चलाउँदा गुरुज्यूहरुले स्वस्तिवाचन गरे। त्यसमा सैन्य ब्यान्डले पनि लय मिलाए। दस गजजति रेल चलेपछि राजा र प्रधानमन्त्री रेलबाट ओर्लिए।

लेफ्टिनेन्ट जनरल केशरशमशेरले सबैका तर्फबाट छोटो सम्बोधन गरे। मार्टिन कम्पनीका मार्टिनले राजा र प्रधानमन्त्रीलाई फूल चढाए। त्यसपछि उनीहरुलाई पनि अत्तर पान दिइयो। उद्घाटन समारोह सकिएपछि राजा र प्रधानमन्त्रीसमेत आ-आफ्नो गाडीमा सवार भई क्याम्पतिर फर्किए।

दुई दिनपछि १८ फेब्रुअरीको दिउँसो १ बजे राजा र प्रधानमन्त्री रेलमा सवार भई अमलेखगन्जबाट रक्सौलतर्फ प्रस्थान गरे। रक्सौलबाट उनीहरु बेलुकी ७:२५ बजे अमलेखगन्ज फर्किए। (गोरखापत्र भाग २६ अंक ४३ को सहयोगमा।)

नेपालमा पहिलो रेल चलेको बारेमा विभिन्न अन्तर्राष्ट्रिय पत्रपत्रिकाले खबर सम्प्रेषण गरेका थिए। तिनले नेपालमा खुलेको पहिलो रेल नेपालका राजाले उद्घाटन गरेको र रेलमा चढ्ने उनी पहिलो नेपाली भएको उल्लेख गरेका थिए। (दी पेरिस टाइम्स २३ फेब्रुअरी १९२७)

नेपालले धुर्सिङदेखि मातातीर्थसम्म निर्माण गरेको १४ माइल लामो रोपवेलाई सम्भवत: संसारको सबैभन्दा लामो रोपवेका रुपमा रहेको भनी अन्तर्राष्ट्रिय जगतमा चर्चा चलेको थियो।

प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९२० मा सतीप्रथा र सन् १९२५ मा दासप्रथा उन्मूलन गरेलगत्तै रेलवे निर्माण गरेकाले अन्तर्राष्ट्रिय जगतले उनलाई सुधारवादी र विकासप्रेमी प्रधानमन्त्रीका रुपमा चित्रण गरेको थियो। पहिलो त त्यतिबेला संसारका धेरै ठाउँमा औपनिवेशिक शासन थियो, कतै अधिनायकवादी शासन थियो। नेपालको शासनसत्ताबारे धेरै जानकार नरहेका र सम्प्रेषण भइरहेका ती सकारात्मक समाचारका आधारमा त्यस्तो चित्रण गर्नु स्वाभाविक थियो। चन्द्रशमशेरले सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने जस्ता कदम चाल्नु तत्कालीन समयका क्रान्तिकारी सुधार थिए। त्यस्तै त्रिचन्द्र कलेज, त्रिभुवनचन्द्र मिलिमिटर अस्पताल, क्षयरोग अस्पताल, रेलवे, रोपवे, सुरुङमार्गसहितको सडक निर्माण गर्नु तदेखिन लायकका केही काम थिए।

नेपालले धुर्सिङदेखि मातातीर्थसम्म निर्माण गरेको १४ माइल लामो रोपवेलाई सम्भवत: संसारको सबैभन्दा लामो रोपवेका रुपमा रहेको भनी अन्तर्राष्ट्रिय जगतमा चर्चा चलेको थियो। (कमर्स रिपोर्टस-डाइरेक्टर ब्युरो अफ फरेन एन्ड डोमेस्टिक कमर्स-वासिङ्टन डिसी १८-अप्रिल-१९२७)  त्यस्तै नेपालको पहिलो इन्जिनियर कर्ने डिल्लीजङ्ग थापाले डिजाइन गरी उनैको नेतृत्वमा बनेको चुरिया सुरुङलाई सन् १९५० मा नेपाल आएका स्विस भूगर्भविद् टोनी हागनले एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्गका रुपमा चित्रण गरेका थिए। सन् १९२७ फेब्रुअरीमा उद्घाटन भएको रक्सौल-अमलेखगन्ज रेलसेवा ३८ वर्षपछि सन् १९६५ को जुलाईमा बन्द भयो। (दी बुलेटिन – नेसनल रेलवे हिस्टोरिकल सोसाइटी अमेरिका, अंक ३७-१९७२)

प्रकाशित: १४ फागुन २०७८ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =